
बागलुङ, २१ साउन
भलिबलकी अरुणा शाही र लन टेनिसका कुमार अधिकारी दोस्रो पोखरा स्पोर्टस् अवार्ड अन्र्तगत वर्ष उत्कृष्ट महिला खेलाडी उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा पोखराले शनिबार पोखरा सभागृहमा आयोजना गरेको दोस्रो संस्करणको अवार्डमा भलिबलकी अरुणाले फुल कन्ट्याक्ट करातेकी सुस्मी श्रेष्ठ, भारोत्तोलनकी टीका माया गुरुङलाई पछि पारिन् ।
अघिल्लो वर्ष समेत मनोनयनमा परेका शाहीले सेन्ट्रन जोन भलिबलमा नेपाललाई दोस्रो बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेकी थिईन् । यस्तै अरुणा आरआर विए क्लब लिग भलिबलमा वेष्ट सर्भर घोषित भएकी थिईन् । सातौ राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चललाई कास्य तथा सृजना आमन्त्रण भलिबलमा दोस्रो र केएनपी महिला भलिबलमा टिमलाई तेस्रो बनाउन शाहीको महत्वपूर्ण भुमिका रहेको थियो ।
पुरुषतर्फ कुमार अधिकारीले क्रिकेटका करण केसी र ह्याण्डवलका विशाल वस्नेतलाई पछि पार्दै उत्कृष्ट खेलाडी घोषित भएका हुन् । कुमार पाँच वर्षसम्म राष्ट्रिय च्याम्पियन बन्न सफल भएका खेलाडी हुन् । उनले गतवर्ष पूर्वाञ्चलमा भएको सातौ राष्ट्रिय खेलकुदमा खुल्ला डबल्र्स र मिक्स डबल्र्समा स्वर्ण जितेका थिए । पुरुष सिंगल्र्समा भने उनी कास्यमा सीमित भएका थिए ।
भलिबल र एथ्लेटिक्सकी ममता डगौरा उदीयमान खेलाडी घोषित भईन् । उनले एथलेटिक्सका दर्शना वुढा मगर र सागर नेपालीलाई पछि पारिन् । भलिबलकी १४ वषीय प्रतिभावान खेलाडी ममता फुटबल र एथ्लेटिक्सका समेत उत्कृष्ट खेलाडी हुन् । उनकै उच्च प्रदर्शनमा पश्चिमाञ्चलले सातौ राष्ट्रिय खेलकुदमा कास्य जितेको थियो । उनकै योगदानमा पश्चिमाञ्चलले क्षेत्रीय भलिबल च्याम्पियनसिप तथा एथ्लेटिक्समा स्वर्ण जित्न सफल भएको थियो ।
वर्ष उत्कृष्ट प्रशिक्षकमा तेक्वान्दोका सुनबहादुर लामा चुनिए । उनले भारोत्तोलनका वखतमान श्रेष्ठ र एथलेटिक्सकी इन्द्रा मल्ललाई पछि पारिन् । सन् १९९५ देखि तेक्वान्दोको प्रशिक्षक बनेका सुनबहादुर कै प्रशिक्षणमा खेलाडीहरु थुप्रै पदकह जित्न सफल भएका छन् ।
गत वर्षबाट सुरु भएको पोखरा स्पोर्टस अवार्ड यसपटक एथ्लेटिक्सका पुर्व खेलाडी खड्ग रानाभाटलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरियो । उत्कृष्ट संघको बाजी नेपाल लन टेनिस एसोसिएसनले हात पार्यो । वर्ष उत्कृष्ट संघलाई नगद १० हजार र अर्वाड प्राप्त गर्यो ।








