
मसंग नि त्यै खुसी र पीडा, दुबै भएको निधार रै’छ
ब्यथाहरू भात झैँ रहेछन्, खुशी भनेको अचार रै’छ
म मिर्ग तृष्णा लिएर हिड्थें, मुहान जस्तै तिमी रसायौ
निस्वार्थ माया रहेछ भन्थें, परन्तु पासो तयार रै’छ
फरक भयो साइनो तथापि, बदल्न गाह्रो रहेछ यो मन
समय बगेको नदी सरह भो, र सम्झना चैँ किनार रै’छ
नशा नशामा बहन्छ किन्तु, असर कतै देखिदैन तनमा
यो प्रेम भन्ने करेन्ट रै’छ, बदन बिजुलीको तार रै’छ
शशी समेत रुप बदल्छ हरदिन, मनुष्य माथि के को गुनासो
अमूर्त या मूर्त सब् दुनियाँ, परिस्थितिको शिकार रै’छ
बहर :मुतकारिब मक्बूज अश्लम
लोकेश संघात










