कविता: “अक्षरहरुको श्रद्धान्जली”

मैले यी अक्षरहरुको
आेठमा पोतेका मुस्कानहरु नक्कली-नक्कली हुन् ,
कागजका खेतहरुमा
मसीको बीज छरेको देखेर तिमी दङ्ग परेको ?
त्यो गाऊँको खेतबारीमा मेरो उन्यु पलाएको छ रे !
घरको छानो माथि लाटोकोसेरो बसेर गिज्याइ रहन्छ रे मेरो नियतिलाई
म यता कागजका इट्टाहरु जोडेर
बङ्गला बनाउन तल्लिन छु ।

हलोको फालीमा खिया लागेको छ रे
कुटो, कोदालो र फरुवा भुत्ते भए भन्दै हुनुहुन्थ्यो आमा
म यता अक्षरहरुको साम्राज्य बनाउदैछु
एकोहोरो आफैलाई महाराज घोषित गर्दैछु ।

भन्नेहरुले त भनेकै हुन्
कागजका पानाहरुमा खनेका घडेरीहरुमा
महल बन्दैन भनेर
भन्नेहरुले भनेकै हुन्
जीजिविषाको ज्वालालाई अक्षरहरुको ललिपपले शान्त पार्दैन भनेर
कता-कता मैले यस्तो पनि सुनेको थिए
पैसामा बिक्छन् आजभोली अक्षरहरु
तर मैले स्वाभिमान बेच्नै चाहिन आफ्नो
र त,
राता तुलहरुमा
आजभोली म मेरा अक्षरहरुको श्रद्धान्जली लेख्दैछु ।

पुष्कर बिष्ट
सल्यान