
एजेन्सी, १९ साउन
नेमारको बार्सिलोना छाड्ने चाहनालाई क्लबले बुधबार औपचारिक रुपमा अनुमति दिएपछि पेरिस सेन्ट जर्मन (पीएसजी) जाने खबरले पूर्णता पाएको विश्वास लिइएको थियो ।
तर, ला लिगाको निर्णय आएपछि भने नेमार पीएसजी जाने खबरले पूर्णता पाउन सकेन ।
पीएसजीका प्रतिनिधिहरुसँग ला लिगाले नेमारको ‘रिलिज क्लज’ लिन अस्वीकार गरेसँगै नेमारको पीएसजी प्रस्थानमा समस्या देखिएको छ । ला लिगाले रिलिज क्लज नदिएसम्म नेमार औपचारिक रुपमा पीएसजीमा जान पाउँदैनन् ।
पीएसजीका प्रतिनिधिहरु बिहीबार नेमारलाई क्लबमा भित्र्याउने कीर्तिमानी रकम २ सय २२ मिलियन युरोसहित ला लिगाको कार्यालय पुगेका थिए । तर, स्पेनिस फुटबल लिग ला लिगाका कर्पोरेट महानिर्देशक जेभियर गोमेजले उक्त प्रस्ताव अस्वीकार गरेका हुन् ।
ला लिगाले पीएसजीको प्रस्ताव अस्वीकार गर्नुलाई आश्चार्य रुपमा हेरिएको छैन। नेमारलाई कीर्तिमानी रकममा भित्र्याउने होडले ‘फाइनान्सियल फेयर प्ले’ नीतिमा ठूलो असर पर्ने भन्दै यसअघि नै पीएसजीलाई स्पेनिस फुटबल लिगका प्रमुख जेभियर टेबासले चेतावनी दिइसकेका छन् ।
उनले पीएसजीको यो कदमविरुद्ध युरोपियन फुटबल संघमा उजुरी दिने समेत चेतावनी दिएका बेला ला लिगाले पनि पीएसजीलाई रिलिज क्लज दिन अस्वीकार गरेको छ ।
‘ला लिगाले पीएसजीको यो कदमविरुद्ध उजुरी गर्नुपर्छ, किनकी यसले प्रतियोगिताको प्रतिस्पर्धालाई नै मार्नेछ । आज यो बार्सिलोनासँग भएको छ, भोलि रियल मड्रिड, पछि एथ्लेटिको मड्रिडसँग पनि हुन सक्छ,’ टेबासले भनेका छन् ।
नेमारले क्लब छाड्ने इच्छा देखाएपछि बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भेलभार्डाेले उनलाई क्लब छाड्ने अनुमति दिएका थिए । नियमित प्रशिक्षणमा सहभागी नभर्इ नेमारले बुधबार क्लब छाड्ने अाैपचारिक जानकारी गराएका थिए ।
बार्सिलोनाले पीएसजीलाई सम्पूर्ण रकम एकैचोटीमा चुक्ता गर्न भनेको थियाे ।
बार्सिलोनाले छाड्ने अनुमति दिइसकेपछि सहकर्मी नेमारबाट छुटिन लागेकाेमा भावुक हुदै लिअाेनल मेस्सीले बिहीबार इन्स्टाग्राममा विदाई सन्देश सहितको भिडियो पोस्ट गरे । बार्सिलोनामा सँगै विताएका पलहरु सहितका तस्बिरहरुको स्लाइड शो सहित मेस्सीले उक्त भावुक सन्देश लेखेका थिए ।
सन्देशमा लेखिएको थियाे, ‘बार्सिलोनामा तिमीसँगै विताएका बर्षहरुले मेरा लागि निकै आनन्ददायी रहे । प्रिय साथी नेइमार, तिमीलाई जीवनको नयाँ सुरुवातका लागि बधाई तथा शुभकामना । फेरि भेटौला । तिमीलाई धेरै माया गर्ने ।’
सन्देश पोस्ट भएको केही छिनमै प्रतिक्रिया दिर्दै नेमारले लेखेका थिए, ‘धन्यबाद दाजु, तिमीलाई सधै ‘मिस’ गर्नेछु, साथी ।’
सन् २०१३ मा ब्राजिलको सान्तोसबाट नेमार बार्सिलोनामा आवद्ध भएका थिए । त्यसयता, उनीहरुले क्लबका लागि सयभन्दा बढि खेल खेलेका छन् ।
बार्सिलोनामा हुदा मेस्सी, नेमार र लइस स्वारेजलाई विश्वकै शक्तिशाली फरवार्डका रुपमा चित्रित गरिन्थ्यो । बार्सिलोनाले च्याम्पियन्स लिग जित्दा होस या ला लिगा तथा कोपा डेल रे जित्दा, यी तीनको तालमेलको सधै चर्चा गरिन्थ्यो ।
यसअघि विश्व फुटबलको इतिहासमा म्यानचेस्टर युनाइटेडले पाउल पोग्बालाई ८९.३ मिलियन पाउण्डको कीर्तिमानी रकममा भित्र्याएको थियो । सो रकम भन्दा झण्डै दोब्बर रकममा नेमार बार्सिलोना छाडेर पीएसजी जान लागेका हुन् ।
पीएसजीसँगको हस्ताक्षरसँगै नेमार विश्वका सवैभन्दा महंगा फुटबलर बन्नेछन् ।










