गाइने किराका १० रोचक जानकारीहरु

-राजु आचार्य
सानोमा यसको पछिल्लो भागमा मसिनो धागो बाँधेर छोड्दा आनन्द लाग्थ्यो । यसलाई हेलिकप्टर भन्यो अनि पछि पछि दगुर्‍यो । तर आजभोलि गाइने किराहरु देख्न पनि गाह्रो भैसक्यो । यसलाई नचिन्ने मानिसहरु सायदै होलान् । यिनको लामो शरीर, पारदर्शी पंखेटाहरु तथा ठूलाठूला आँखाहरु हुन्छन् । यिनीहरु किरा हुन् । यसलाई खेतारी,पानी टिपुवा, टुकली, फिरफिरे, झ्यालिन्चा आदि नामले समेत चिनिन्छ । टाउको ठूलो भएको कारणले कसै-कसैल घन टाउके किरा समेत भन्दछन्। यिनीहरु तातो मौसममा तथा पानी आसपासको क्षेत्रमा बस्न रुचाउने गर्दछन् । यिनीहरुले मानिसलाई कुनै नोक्सानी गर्दैनन्। आउनुस् यसका केही रोचक जानकारीहरु पढौ ।


• यिनको छ वटा खुट्टाहरु भए पनि राम्ररी हिँड्न सक्दैनन् तर उड्न सिपालु हुन्छन् । उड्दाउड्दै आफ्नो आहारा कति टाढा छ, कुन दिशामा छ र कुन गतिमा उडिरहेको छ भनेर अनुमान गर्न सक्छन् ।
• यिनीहरु हावामा एकै ठाउँमा पंखेटा हल्लाएर बस्न सक्छन् । यिनीहरु अगाडि फर्किएर पछाडि पनि उड्न सक्छन् । यिनीहरु ६ प्रकारले उड्न सक्छन् । कुनै कुनै गाइने किराहरु ९७ किलोमिटर प्रति घन्टाका दरले समेत उड्न सक्छन् । यिनका चारवटा पखेटाहरु एकै पटक वा फरक फरक हिसाबले प्रयोगमा आइरहन्छन् ।
• ठूलो आँखाभित्र हजारौं सा-साना आँखाहरु (करिब ३००००) हुन्छन् । त्यसैले यिनीहरुले चारैतिर देख्न सक्छन् तर प्रष्ट भने देख्दैनन् ।
• यिनीहरु मांसाहारी किरा हुन् । साना किराहरु, मौरी, माखा, लामखुट्टे खान्छन् र कहिलेकाँही पुतली पनि । एकदिनमा कम्तिमा ३० वटा लामखुट्टे खाने गर्दछन् । उडिरहंदा नै आहारालाई समातेर खान पनि सक्छन् । ठूला गाइने किराले साना गाइने किराहरूलाई समेत खाने गर्दछन् । आफनो आहारलाई देखि सकेपछि ९५% अवस्थामा मारिदिन्छन् । तर यिनलाई भने छेपारो, चरा, भ्यागुता, माछाले आहारा बनाई दिन्छन् ।
• फूलबाट लार्वा बनेपछि पानीमा करिब ६ महिना देखि १ वर्षसम्म रहन्छन् । उड्न थालेपछि १-२ महिना जतिमा जीवनचक्र समाप्त हुन्छ ।

• हाल पाइने गाइने किराको पंखेटाको चौडाई (एक पखेटाको टुप्पादेखि अर्को पखेटाको टुप्पासम्मको दूरी) ५ -१३ सेमीसम्म हुने गर्छ । जबकि पहिला भेटिएकाको (अवशेष) पखेटा ७५ सेमि चौडासम्म थिए । यिनीहरुको उपस्थिति पृथ्वीमा ३२६ मिलियन वर्ष (१ मिलियन वर्ष = १० लाख वर्ष) अगाडि भेटिएको थियो ।
• इन्डोनेसियामा मानिसहरुले यसलाई खाने गर्दछन् । एशिया मुलुकमा टाउकोमा आएर बस्यो भने राम्रो हुने विश्वास गरिन्छ । जापान र चीनमा परम्परागत औसधिमा समेत यसको प्रयोग गरिन्छ ।
• संसारभर ५९०० प्रजातिका गाइने किराहरु भएको अनुमान गरिएको छ । यिनीहरु संसारकै उड्न सक्ने ठूला किराहरुमा पर्दछन् ।
• बेलायतको वेल्समा मरेका सर्पहरुलाई छोइदियो भने सर्प बाँच्ने किम्वदन्ती भएकोले यसलाई ‘सर्पको डाक्टर’ समेत भनिन्छ । मानिसहरु कतिसम्म विश्वास गर्छन् भने घाइते सर्पको घाउ यिनले सिलाएर सन्चो बनाई दिन्छन् ।
• शारीरिक सम्पर्कको बेला भालेले हैरान पार्छन् । घाँटीमा समाएर बलात्कार नै गर्छन् । यही हैरानीबाट बच्न पोथीले मरेझैं नाटक समेत गर्दछन् । यसका लागि आकास बाट खसेझैँ गर्ने र भुइँमा नचली बस्ने गर्दछन् । कुनै कुनै भालेले भने शारीरिक सम्पर्क भइसके पछि अन्य भालेले सम्पर्क नगरोस् भनेर सुरक्षा गार्डको रुपमा सहयोग गर्दछन् ।