नेपालद्वारा बंगलादेश १-० गोलले पराजित, विमलले गरे गोल

बागलुङ, २७ असार
नेपाल यू-२३ र बंगलादेश यू-२३ बीच आज (मंगलबार) भएको मैत्रीपूर्ण खेलमा नेपाली टोलीले जित हासिल गरेको छ । नेपालले बंगलादेशलाई १-० गोलले पराजित गरेको हो ।
नेपालको जितमा विमल घर्ती मगरले एक गोल गरे । अन्जन विष्टको पासलाई सदुपयोग गर्दै विमलले खेलको २० औँ मिनेटमा गोल गरे ।
त्यसैगरी विमलको अर्को प्रहारलाई गोलरक्षकले पहिलो बारमा मुस्किलले बचाएका थिए । उक्त सट प्रहार गरेपछि ल्यान्डिङ नमिल्दा उनको काँध डिस्लोकेट हुन पुगेको थियो । त्यसपछि उनको स्थानमा विश्वास श्रेष्ठले मैदानमा प्रवेश पाए ।
खेलको ६४ औं मिनेटमा अन्जनले गरेको उत्कृष्ट ओभरहेड सट डिफेन्सलाई लाग्दै बाहिरिएको थियो । बंगलादेशका लागि ६९ औं मिनेटमा हेमन्तो विश्वासको बक्स बाहिरबाट गरेको प्रहारलाई गोलरक्षक एलन न्यौपानेले मुस्किलले बचाएका थिए ।
खेलको दोश्रो हाफको इन्जुरी समयको तेश्रो मिनेटमा विवेक बस्नेतको पासमा विश्वास श्रेष्ठले गोल गर्ने सुनौलो मौका चुकाएका थिए ।
एएफसी च्याम्पियनसिपको समूह ‘डी’मा रहेको नेपालले शनिबार आयोजक युएईसँग खेल्नेछ । त्यस्तै, साउन २ गते उज्वेकिस्तान र साउन ४ गते लेबननसँग खेल्नेछ ।