
पोखरा, २१ असार
धनगढी प्रिमियर लिगको छनोटमा पर्न नसकेका गण्डकी र धौलागिरिका क्रिकेट खेलाडीलाई स्थान दिन पोखरामा पनि क्रिकेटको लिग गरिने भएको छ ।
साउन १७ देखि पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको मैदानमा हुने हुने माछापुच्छ्रे लिग क्रिकेटमा आयोजक, पोखरा, पर्वत, स्याङजा, बाग्लुङ, तनहुँको टोलीले खेल्ने छन् । आयोजक माछापुच्छ्ेर क्रिकेट क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै सहभागी खेलाडीले आफ्नो मूल्य पाउने जनाएको छ ।
राष्ट्रिय खेलाडी समावेश नगर्ने प्रावधान राखिएको प्रतियोगिता आयोजनाका लागि खुकुरी इन्टरटेन्मेन्टले सघाउने भएको छ ।
आयोजकका दिपेश खत्री, पोखरकाका प्रवीण ढकाल, पर्वतका राजु थापा, स्याङजाका दिवाकर थापा, बाग्लुङका विजय बिक र तनहुँका राजु गुरुङ आ–आफ्नो टिम कप्तान रहने जानकारी दिइयो । ६ टोलीले अब खेलाडीको क्याम्प राख्दै छनोट गरिएको खेलाडीलाई खरिद गरी आफ्नो टिम बनाउन पाउने प्रावधान छ । व्यक्ति तथा संस्थाले टिम व्यवस्थापन गर्न सक्ने भनिएको प्रतियोगिताका लागि ५० हजार रुपैयाँ आयोजकलाई दिनुपर्ने नियम बनाइएको छ ।
छनोटमा परेका खेलाडीलाई सम्बन्धित जिल्लाले बोलकबोल (लिलामी) रकम लगाउने छ । सर्वाधिक रकम बोल्नेले खेलाडीलाई आफ्नो स्वामित्वमा राख्ने क्लबका अध्यक्ष दिपेश खत्रीले बताउनुभयो । उहाँका अनुसार खेलाडी माथि सम्बन्धित क्लबले ५० हजार रुपैयाँ लगानी गर्न पाउने छन् । एउटा टिमममा १५ खेलाडी र एक प्रशिक्षक हुनेछन् ।
लिग चरणबाट छनोट भएका शीर्ष चार टोलीले नकाउट चरणमा प्रतिस्पर्धा गर्ने छन् । एलिमेनेटरको पहिलो विजेता फाइनल पुग्नेछ भने एलिमेनेटर दोस्रोले पहिले हारेको टिमसँग फेरि प्रतिस्पर्धा गर्दै फाइनल खेल्ने अवसर पाउने छ ।
विजेताले तीन लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
बागलुङको कप्तानी गर्ने विजय विक धौलागिरी क्रिकेट क्लबका कप्तान हुन ।










