म एक गरिब हुँ
नियतिको चोट हो गरिब
अभावसँग लड्दै भिड्दै हिडिरहेको
एउटा दास , स्वयम म
बिचल्लीत छैन गरिबीबाट ।
जब सामन्तीको साम्राज्यमा एकदिन ,
स्वतन्त्रता छाउनेछ –
लाले दाईको बन्धकी जीवन
सेती भाउजुको हिरासतको त्यो जवानी ,
अनि मेरा थोपाथोपा पसिना ।
हो त्यही दिन
गरिबको पसिनासँग होली खेलेका
महाजनहरुलाई –
भोलि समयकै गतिले बनाउनेछ अशक्त ,
लाग्नेछ बुढेसकाल ,
खोज्नेछन सहारा लठ्ठीको ।
तर ,
तर हैन म त्यो गरिब
जो भाग्यको पुच्छर समाएर
हिड्न खोज्छ जीवन गोरेटोमा ।
यो समय , यो युगको गरिब हुँ म
नियतीको गरिब ,
जीवन भोगाइ र बुझाइको गरिब ,
अभावले निम्त्याएको गरिब ,
मात्र कर्मको गुलामी ।
सत्यता , इमान्दारीता नै
मेरो गरिबी पन हो ।
हो म गरिब हुँ –
सन्तुष्टिको प्रखर धनी –
जीवन र मृत्यु बिचको स्वर्णिम कहानी –
त्यसैले जब यहाँ म जस्ता
क्रान्तिकारी `म´ जन्मिछन
कुलेलम ठोकीसकेको हुन्छ
हिजोको निरंकुश
उदाइसकेको हुन्छ
भोलिको सुनौलो बिहान ।
भोलिको स्वर्णिम भविष्य ।।
मगर प्रेम
काँठेखोला गाउपालिका–७
बागलुङ










