सन्दुक

अनुरोध हो या आदेश
मेरी आमाले सन्दुकको साँचो पटुकिमा कस्दै
कुनै बेला भनेकी थिइन
बाबू, यो साँचो म संगैं जलाइदिनु ।

त्यस बेला ,आमाका
-शब्दमा पीडा थियो
-आवाजमा अनौठो लय थियो
-हेराइमा अचम्मको प्रेम थियो ।

म आमाको छेउमा थिए

आमाका ओठहरु काँपेका थिए
शरीर थचक्क भुइमा बजारिएको थियो
अनौठो कम्पन तरङ्गित भएको थियो सन्दूक छेऊ ।

मैले सुनेको थिए ,सन्दुक भित्र
सम्पति छ।

एक दिन मेरो हातमा सन्दुकको साँचो पर्यो
खोले ,सन्दुक खाली थियो।

सन्दूक भित्र
-धेरै जाना थिए ,खजाना थिएन
-चम्किला किरा थिए ,हिरा थिएन
-मृत सपना थियो, गहना थिएन

सन्दुक सम्पती थियो
सन्दुक भित्र सम्पति थिएन ।

सन्दुकसङ्ग आमाको नाता के होला?
सन्दुकलाइ जोगाउनै पर्ने बाध्यता के होला ?

कतै
-आमाको पुरानो प्रेमिले,पुरानो प्रेम,पुरानो सन्दूक भित्र राखि उपहार दिएको भएर हो कि?
– दाइजो भएर हो कि?
-बा’लाइ लाहुर बाट ल्याउदा, बा संगै आएको बा’को अन्तिम निशानी भएर पो हो कि?
किन, आमा सन्दूकलाइ यतिका प्यार गर्नु हुन्छ।

म अरुले देश भन्ने बिदेश हिड्ने बेला
आगनको डिलबाट आँखा टिल्पिल बनाइ रहेकी आमालाई
त….ल देउरालीनेरी पुगेर कराउदै सोधे-
आमा ,त्यो सन्दुक कस्को हो ?
तपाईं त्यो सन्दुकको को हो ?

आमाले भक्कानिदै भनिन्
बाबू!
सन्दुक तेरो देश हो
म तेरो देशको संरक्षक ।

इश्वर कुमार