
कमरेडको कोटको दायाँ खल्तीमा
भेटिन्थ्यो रम्तेलको कन्काल ।
जसको खुरभित्र
टनाटन हुन्थ्यो मासीको सट्टा
थवाङे जनताहरुको सपनाहरुको भ्रुण ।
*
कोटको बायाँ खल्तीमा
भेटिन्थ्यो इच्छुकको कबिता
जहाँ
कैद थियो मजदुरको हथौडा
अनि
किसानको हसिया।
*
हिजो एक्कसी भेटियो त्यही कोट
सिंहदरबारको गेटमा
जसको कलरमा लेखिएको थियो
#लिलामीको कोट#
*
सायद नोटको होडमा कमरेडले नयाँ कोट किन्नुभयो।
*
थाहा छैन नयाँ कोटको खल्ती
खाली छ या भरी ।
***
©संजय देव बिष्ट










