बागलुङ, २८ चैत
अहिले अभ्यास हुन लागिरहेको संघिय अभ्यासमा फरक मत राख्दै आएको राष्ट्रिय जनमोर्चाले जिल्लाभरको उम्मेदवार टुङ्गो लगाएको छ ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङको वैठकले जिल्लाभरका समन्वय समिति मार्फत प्राप्त भएका सिफारिसका आधारमा १० स्थानीय तहका लागि ६० जना प्रमुख तथा उपप्रमुखको नाम टुंग्याएर केन्द्रमा पठाएको छ ।
जिल्लामा रहेका चार नगरपालिका र ६ गाउँपालिकाका लागि प्रमुख तथा उपप्रमुखका सम्भाव्य ६० जना उम्मेदवारको नामावली केन्द्रमा सिफारिस गरि पठाइएको राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा मगरले बताए । ‘एउटा तहमा ६ जना सम्भाव्य उम्मेदवारको नाम हामीले केन्द्रमा पठाएका छौ, केन्द्रिय समितिले नगरपालिकामा मेयर, उपमेयर तथा गाउँपालिकामा प्रमुख उपप्रमुखका बारेमा निर्णय गरेर पठाउनेछ,’ अध्यक्ष थापाले भने, ‘नगर र गाउँपालिकाका वडा अध्यक्ष जिल्लाले अन्तिम टुंगो लगाउनेछ भने वार्ड सदस्य सम्वन्धित नगरपालिका र गाउँपालिकामा रहेको पार्टीको समन्वय समितिले निर्णय गर्न सक्ने गरि तयारी गरेका छौ ।’
राजमोका अनुसार, बरेङ गाउँपालिकामा कृष्ण पौडेल, हिराबहादुर थापा, हिराबहादुर पुन, डिलकुमारी पुन लगायतको नाम पठाइएको छ भने जैमुनी नगरपालिकामा नरबहादुर पुन, कृष्ण थापा, डिलबहादुर श्रीस, लिलादेवी शर्मा, डिलकुमारी श्रीस, बागलुङ नगरपालिकामा लक्ष्मी बाँस्कोटा, घनाश्याम बिक, लोकनाथ शर्मा लगायतलाई सिफारिस गरिएको छ ।
यसैगरि, काठेखोला गाउँपालिकामा अर्जुन केसी, टिकासंगम बिक, लक्ष्मण पुन, सिता किसान, कमला पुन, ताराखोला गाउँपालिकामा तिर्थसिहं थापा, भिमबहादुर चोखाल, रामबहादुर खत्री सहितको नाम सिफारिस गरिएको छ । गलकोट नगरपालिकामा टकं केसी, नेत्र बुढाथोकी, पदम श्रेष्ठ, बडिघाट नगरपालिकामा भिमसेन बन, रामप्रसाद भट्टराई, रुनमाया थापा, कोपिला थापा, बिष्णु थापा, ढोरपाटन नगरपालिकामा गौरिश्वर पाण्डे, टेकबहादुर घर्ति, धनबहादुर अदै, दुर्गादेवी घर्ति, निसीखोलामा खिमबिक्रम शाही, थमन बुढा, मुक्तबहादुर सिहं तथा तमानखोला गाउँपालिकामा डोरबहादुर क्षत्री, बमकुमारी बुढा, बिरबहादुर बिक लगायत ६ जनाको नाम सिफारिस गरिएको छ ।
उम्मेदवारको नाम सिफारिस गरिए पनि जिल्ला तहमा बाम तालमेलका बिषयमा पार्टी खुल्ला रहने राजमो अध्यक्ष थापाले बताए । ‘केन्द्रिय तहदेखी जिल्ला तहमा पनि बाम तालमेलका लागि छलफल जारी छ,’ उनले भने, ‘राजावादी, जातिवादी, नेपाली कांग्रेस र नयाँ शक्ति बाहेक अन्य पार्टी सँग कार्यगत एकताका लागि हामी तयार छौ ।’
यसैबिच, राष्ट्रिय जनमोर्चाले मंगलवारदेखी प्रचारात्मक अभियान शुरु गर्ने भएको छ । जनमोर्चाले सोमवार पत्रकार सम्मेलन गरि जिल्लाको नारायणस्थानबाट अभियान शुभारम्भ गरिने अभियानका संयोजक तथा सांसद मिन पुनले बताए । प्रजातान्त्रिक विकेन्द्रियता र संविधानको कार्यन्वयनका लागि पार्टीको पक्षमा जनमत सिर्जनागर्न अभियान थालिएको उनले बताए ।









