
बागलुङ, २६ असार । बागलुङबाट प्रकाशित परिसूचन साप्ताहिक शुक्रबार आफ्नो १३औँ वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवमा अवसरमा आयोजित प्रतियोगितामा आयोजक टोली परिसूचन साप्ताहिक, नेपाल पत्रकार महासङ्घ बागलुङ शाखा र प्रबुद्ध युवा समूह सहभागी भएका थिए । प्रतियोगितामा प्रबुद्ध युवा समूह विजेता बनेको छभने नेपाल पत्रकार महासङ्घ बागलुङ उपविजेता बन्यो । आयोजक परिसूचनले तृतीय स्थान प्राप्त गर्यो ।
विजेता टोलीलाई नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । उपविजेता नेपाल पत्रकार महासङ्घ र तृतीय हुने आयोजक टोलीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले खेलकुदले मानिसलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले खेलले शारिरिक स्वस्थ्य मात्र नभएर मानसिक रुपमा पनि स्वस्थ्य हुन मद्यत पुग्ने भन्दै आपसी सहयोग र सहकार्यको भावना पनि विकास गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागलुङका उपाध्यक्ष सुवास आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । लेखन नेपाल मिडिया प्रालिद्वारा प्रकाशित पत्रिकाले विगतका वर्षहरूमा फुटबल, फुटसल प्रतियोगिता तथा विभिन्न क्षेत्रमा शैक्षिक सामग्री र खाद्यान्न वितरणलगायतका कार्यक्रम गर्दै आएकोमा यस वर्ष वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको हो ।
लेखन नेपाल मिडिया प्रालिका अध्यक्ष विजय रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रबन्धक नवराज नेपालीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन पत्रिकाका सम्पादक ताराप्रसाद शर्माले गर्नुभएको थियो ।










