
बागलुङ, ९ जेठ । बागलुङमा जारी प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।
शुक्रबार समुह चरण र क्वाटरफाइनलका खेल सकिएपछि सेमिफाइनल समिकरण पुरा भएको हो । प्रतियोगितामा फ्युचर ब्राइटर माध्यमिक विद्यालयको (निलो) र (हरियो) दुई टिमसहित गुराँस विद्या सदन (बि) र म्याग्दीको मनसुन एफसि एस केबिए म्याग्दी सेमिफाइनल प्रवेश गरेका छन् ।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल शनिबार हुने आयोजक बागलुङ सम्पदा अंकित स्पोर्टस्का संचालक सौगात खड्काले जानकारी दिनुभयो । पहिलो सेमिफाइनल खेल फ्युचर ब्राइटर (निलो) र गुराँस विद्या सदन (बि) बिच हुनेछभने दोस्रो सेमिफाइनल फ्युचर ब्राइटर (हरियो) र मनसुन एफसि एस केबिए म्याग्दी बिच हुनेछ ।
प्रतियोगिताको फाइनल खेल पनि शनिबार नै हुने संचालक खड्काले बताउनुभयो । प्रतियोगितामा बागलुङ र म्याग्दीका २२ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेताले नगद १५ हजार र उपविजेताले नगद ८ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खड्काले बताउनुभयो । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी र सर्वाधिक गोलकर्तालाई आकर्षक ट्रफी प्रदान गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारीले गर्नुभएको थियो । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष राजभण्डारीले विद्यालयस्तरका प्रतियोगिताले खेलाडीहरुलाई खेल प्रति आकर्षित गर्ने बताउनुभयो ।
बागलुङ सम्पदा अंकित स्पोर्टस्का संचालक सौगात खड्काको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा गुराँस विद्या सदनका प्रिन्सिपल निशान खड्काले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोभने संचालन सुभम राजभण्डारीले गर्नुभएको थियो ।







