त्रिभुवन माध्यमिक विद्यालयमा महायज्ञ गरिदै

बागलुङ, १७ मंसिर । जिल्लाको बडिगाड गाउँपालिका–२ खर्बाङमा सञ्चालित नमुना त्रिभुवन माध्यमिक विद्यालयलाई बहुप्राविधिक शिक्षालय र आवासीय विद्यालय बनाउनका लागि महायज्ञ आयोजना गरिएको छ । विद्यालयले मंगलबार बागलुङमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी यही मंसिर २१ गतेबाट २८ गतेसम्म श्रीमद् भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको जानकारी दिएको हो ।

पश्चिम बागलुङकै नमुना विद्यालयमध्ये एक उक्त विद्यालयमा थप प्राविधिक शिक्षा थप गरी विद्यार्थीलाई आवासीय सुविधा उपलब्ध गराउने गरी महायज्ञ आयोजना गरिएको महायज्ञ मूलआयोजक समितिका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु भुसालले जानकारी दिए । ‘हाम्रो विद्यालय ग्रामीण क्षेत्रमा रहेको विद्यालयमध्ये राम्रो नतिजा दिने र धेरै विद्यार्थी भएको विद्यालय मध्ये पर्छ,’उनले भने,‘हामी प्राविधिक विषय अन्तर्गत बाली विज्ञान पनि सञ्चान गरिरहेका छौं । अब थपप्राविधिक शिक्षा थप्ने र विद्यालयलाई आवासीय बनाउने गरी हामीले यो महायज्ञको आयोजना गरेका हौं ।’

विपन्न, दलित र जनजाति समुदायको बढि बसोबास रहेको क्षेत्रमा रहेको विद्यालयमा आवासीय विद्यालय सञ्चालन गर्दा विद्यालयको गुणस्तर अभिवृद्धि गर्न सकिन्छ भन्ने विद्यालयको विश्वास छ । ‘विपन्न, दलित र जनजाति समुदायको बढि बाहुल्यता रहेको क्षेत्र हो, हाम्रो विद्यालयमा आउने विद्यार्थीहरु पनि तीनै समुदायबाट धेरै छन्,’उनी भन्छन्,‘ती विद्यार्थीहरुलाई आवासीय सुविधा दिन सकियो भने उनीहरुले पढाईमा राम्रो गर्न सक्छन् र विभिन्न कारणले विद्यालयमा नआएका विद्यार्थीलाई पनि विद्यालयसम्म ल्याउन सकिन्छ भन्ने विश्वास छ ।’

प्राविधिक धारतर्फ अहिले बाली विज्ञान सञ्चालनमा रहेको र सिटीईभिटीसंगको सहकार्यमा सिभिल इन्जिनियरिङ र इलेक्ट्रीसियनको कक्षा सञ्चालन गर्ने योजना रहेको उनी बताउँछन् । ‘अहिले आवश्यकता भनेको सीपयुक्त शिक्षा नै रहेछ, हामीले दिने शिक्षा र ज्ञानसंग सीप जोडिएन भने पनि गाह्रो अवस्था छ,’उनले भने,‘सिभिल इन्जिनियरिङ र इलेक्ट्रीसियनको कक्षा सञ्चालन गर्न सक्यौं भने त्यसले माथिल्लो तहमा अध्ययन गर्ने र माध्यमिक तहको अध्ययन पछि गाउँघरमै काम गर्नका लागि पनि सहजता ल्याउँछ भन्ने हामीलाई लागेको छ ।’

विद्यालयको पढाईमा गुणस्तर कायम हुँदै गएपछि छिमेकी वडाहरुबाट पनि तल्लो तहको कक्षामा विद्यार्थी आउन थालेपछि आवासीय आवश्यकता बढेको उनी बताउँछन् । ‘हाम्रो विद्यालयमा प्रावि तहमा पनि झण्डै साढे चार सय विद्यार्थी संख्या छ, नजिकका वडाहरुबाट पनि विद्यार्थी आउने चाहाना गर्ने गरेका छन्,’उनले भने,‘आवासीय विद्यालय बनाउँदा टाढाबाट आउने विद्यार्थीसंगै विपन्न विद्यार्थीलाई पनि सजिलो हुनेछ ।’ उक्त विद्यालयमा अहिले ११८७ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

१०१ प्राविधिक विद्यालयका चन्द्रप्रसाद (ध्रुवशरण) संकल्पकर्ता रहेको महायज्ञमा पण्डित दिनबन्धु पोख्रेल प्रमुख कथावाचकको रुपमा रहनेछन् । महायज्ञभर करिब चार करोड संकलन गर्ने र ५० लाख खर्च हुने विद्यालयका शिक्षक कमल पौडेल बताउँछन् । ‘हामीले सकेसम्म कम खर्चमा काम सक्ने योजनाका साथ अगाडि बढेका छौं, विद्यालयकै विद्यार्थीहरु पञ्चेबाचा बजाउँछन्, दानवीरहरुलाई बाजागाजा सहित स्वागत गर्दा त्यही बाजा प्रयोग गर्ने योजनामा छौं,’ उनले भने,‘चार करोड संकलन गरेर ५० लाख भित्र सबै खर्च सक्ने हाम्रो योजना छ ।’

पण्डित र भजनकृतनमा १२ लाख खर्च हुने र अरु व्यवस्थापकिय कामका लागि खर्च हुने उनले बताए । महायज्ञको प्रसार प्रसार सुरु भएपछि अहिलेसम्म करिब ८० लाखको बोलकबोल आईसकेको आर्थिक समितिका सदस्य भिमलाल पोख्रेलले बताए । ‘अहिलेसम्म ८० लाख जतिको प्रतिवद्धता आईसकेको छ, रकम बोल्ने नदिने विगतमा अन्यत्रको समस्यालाई देखेर हामीले महायज्ञ सुरु हुँदासम्म २५ प्रतिशत भुक्तानी गरिसक्ने, ६ महिनामा ५० प्रतिशत र बाँकी रकम एक वर्ष भित्र पुरै दिनुपर्ने गरी दानवीरहरुलाई जानकारी गराएका छौं,’उनी भन्छन्,‘यसो गर्दा बोलेको रकम नउठ्ने समस्या हुन्न कि भन्ने हाम्रो सोचाई हो ।’

महायज्ञको सन्दर्भमा दैनिक पूजापाठ, भागवत कथा वाचन, झाँकी प्रदर्शन, भक्ती संगित, दानवीर सम्मान, टिका प्रसाद ग्रहण, सन्ध्या आरती लगायतका कार्यक्रमहरु सञ्चालन हुने उनले बताए । महायज्ञको सन्दर्भमा लक्ष्यवत्ती प्रज्वलन, चौरासी पूजा, तुलादान, अतिरुद्री, घृतधारा, चण्डीपाठ, धान्याचल तण्डुलाञ्चल, विवाह व्रतबन्ध, १००८ कलशपूजन, १०८ शालिग्राम परिक्रमा तथा पूजा गर्ने समेत व्यवस्था मिलाईएको छ । महायज्ञमा दानगर्ने दानवीरहरुलाई रकमको आधारमा विभिन्न सम्मानका कार्यक्रम समेत राखिएको छ ।

२०१७ सालमा स्थापना भएको उक्तविद्यालयमा अहिले ५२ जना शिक्षक र १० जना अन्य कर्मचारी गरी ६२ जना कार्यरत रहेको विद्यालयका प्रधानाध्यापक ढालमणि भण्डारीले बताए । ‘हामीले अहिले विद्यालय अभिभावको सहयोगबाट सञ्चालन गरेका छौं, ६२ जना शिक्षक कर्मचारीमध्ये १६ जना स्थायी र १९ जना राहत दरबन्दीका हुनुहुन्छ,’ उनले भने,‘विगतमा हामीले ८४ लाखको एउटा कोष बनाएका थियौं त्यसैबाट र अभिभावकको सहयोगले नै विद्यालय चलेको छ ।’ महायज्ञपछि विद्यालय सञ्चालनका लागि सहज हुने र त्यसले गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।