दक्षिण कोरियामा दुर्घटनामा परी बागलुङका छन्त्यालको मृत्यु

दक्षिण कोरिया । औद्योगिक दुर्घटनामा परी दक्षिण कोरियामा एक जना नेपाली श्रमिकको मृत्यु भएको छ ।

बागलुङ जिल्ला बडिगाड गाउँपालिका १० खहरे स्थायी घर भई हाल कोरियाको खाङवोन प्रान्त, वोनजु सहरस्थित एक उद्योगमा कार्यरत ३८ वर्षका केहरसिंह छन्त्यालको आज मृत्यु भएको हो ।

उद्योग परिसरमा काम गर्दै गर्दा उनको फोर्कलिफ्टले च्यापिएर मृत्यु भएको कोरियास्थित नेपाली राजदुतावासले जनाएको छ । घटनाको थप विवरण आउन बाँँकी छ ।

छन्त्याल विगत ८ वर्षदेखि कोरियामा कार्यरत थिए । उनी सांगीतिक क्षेत्रमा समेत सक्रिय थिए ।

दक्षिण कोरियास्थित नेपाली सम्वद्व विभिन्न संघ संगठनहरुले घटनाको छानबिन गर्न सम्बन्धित निकायसमक्ष माग गरेका छन् ।