एसईईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी र विद्यालय सम्मानित

टिकाराम शर्मा
बागलुङ, २२ असार । नेपाल शिक्षक संगठन बागलुङ नगर कमिटीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सामुदायिक विद्यालय तर्फ उत्कृष्ट जि.पि.ए. ल्याउने विद्यार्थी र विद्यालयलाई आईतबार सम्मान गरेको छ ।

कमिटीले सामुदायिक विद्यालय तर्फ उत्कृष्ट नतिजा ल्याउने गणेश माध्यमिक विद्यालयका विद्यार्थी करिमा पुन र दिप बहादुर श्रेष्ठलाई नगदसहित सम्मान गरेको हो । पुनले ३.९१ र श्रेष्ठले ३.९० जि.पि.ए. ल्याउनुभएको छ ।

यस्तै नगरपालिका भित्र सामुदायिक विद्यालय तर्फ उत्कृष्ट नतिजा ल्याउने चौतारेडाँडा माध्यमिक विद्यालय, लहरेपिपल माध्यमिक विद्यालय, विश्वकर्मा माध्यमिक विद्यालय, कुँडुले माध्यमिक विद्यालय, तित्याङ माध्यमिक विद्यालय र श्रीतिरुपति बालाजीधाम मुक्तिनाथ वेदविद्याश्रमलाई सम्मान गरिएको छ ।

उक्त कार्यक्रममा बोल्दै नेपाल शिक्षक संगठन राष्ट्रिय समितिका उपाध्यक्ष गोविन्द भण्डारीले मिहेनत गर्ने विद्यार्थीहरुले उत्कृष्ट जिपिए ल्याउन सक्ने बताउँदै विद्यार्थीहरुलाई पढाईमा मेहेनत गर्न अनुरोध गर्नुभएको थियो । उहाँले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गरेर हौसला प्रदान गरेको धन्यवाद दिँदै विद्यार्थी र विद्यालयलाई आगामी दिनमा अझै उत्कृष्ट नतिजा ल्याउन शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा नेपाल शिक्षक संगठन राष्ट्रिय समितिका सदस्य गंगा कुमारी शर्मा, बागलुङ नगरपालिका शिक्षा शाखा प्रमुख धन प्रसाद पोखरेल, नेपाल शिक्षक संगठन गण्डकी प्रदेश समितिका उपाध्यक्ष ओम बहादुर थापा, नेकपा एमाले बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्मा, धवलागिरि बहुमुखी क्याम्पस बागलुङका सहायक क्याम्पस प्रमुख डा. डिल्लीराज गौतम, नेपाल शिक्षक संगठन बागलुङका अध्यक्ष कृष्ण भट्टराई, अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष कालिका सापकोटा, शिक्षकहित बचत तथा ऋण सहकारीका अध्यक्ष दिनेश अधिकारी, नेपाल शिक्षक संगठन बागलुङका निवर्तमान उपाध्यक्ष बालकृष्ण सापकोटा, तित्याङ माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार उपाध्याय र सम्मानित विद्यार्थी करिमा पुनले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल शिक्षक संगठन राष्ट्रिय समितिको निर्वाचनमा निर्वाचित केन्द्रीय उपाध्यक्ष गोविन्द भण्डारी र सदस्य गंगा कुमारी शर्मालाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा नगर कमिटीको २०८२ सालको क्यालेण्डर लोकार्पण गरिएको थियो ।

नेपाल शिक्षक संगठन बागलुङ नगर कमिटीका अध्यक्ष कुल बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष सपना शर्माले स्वागत मन्तव्य र सचिव लेखनाथ शर्माले गर्नुभएको थियो ।