
बागलुङ, २३ वैशाख । बागलुङको जैमिनी नगरपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको छ । ‘स्थानीय स्रोतको उपभोग, स्वामित्व र सहभागिता, पूर्ण खोप पालिका हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले सोमवार जैमिनीलाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा तथा प्रमाणिकरण गरेको हो ।
जैमिनी नगरपालिकामा बच्चा जन्मेदेखि १५ महिना उमेर समूहका ३ सय १३ जना नियमित खोप लगाईरहेका र १६ महिनादेखि २३ महिना उमेर समुहका २ सय २६ जना बालबालिकाहरुलाई खोप दिएपछि पूर्ण खोप पाएको सुनिश्चिता सहित दिगोपना कायम राख्ने प्रतिबद्धता जनाइएको जैमिनी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख गोविन्द प्रसाद शर्माले बताउनुभयो । बालबालिकाहरुले जन्मेदेखि २३ महिनासम्मको अवधिमा विभिन्न प्रकारका खोपहरु पाएका छन् ।
राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाहरु सबैले जन्मेपश्चात् पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगविरुद्ध पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेका छन् । नगरपालिकालाई घोषणा गर्नुअघि सबै वडालाई पूर्ण खोप वडा घोषणा गरिएको थियो ।
स्वास्थ्य शाखा प्रमुख शर्माले नगरपालिकाका १० वटै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएपछि हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको बताउनुभयो । ‘राष्ट्रिय खोप तालिका अनुसार नगरका १० वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो’ प्रमुख शर्माले भन्नुभयो ।
नगरपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैत महिना नियमित खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाएनपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने व्यवस्था गरेको छ । वडास्तरीय खोप समन्वय समितिले बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका निमित्त प्रमुख घनश्याम सापकोटाले बताउनुभयो ।
घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख तथा खोप समन्वय समितिका संयोजक अमर बहादुर थापाले स्वास्थ्य क्षेत्रमा अभियानका रुपमा चल्ने यस्ता कार्यक्रम देख्दा सामान्य लागेपनि मानव जीवनको महत्वपूर्ण पाटो भएको बताउनुभयो । उहाँले स्वास्थ्यकर्मी, जनप्रतिनिधि र आमनागरिकले उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको बताउँदै यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले बताउनुभयो । संयोजक थापाले आगामी दिनमा पनि पूर्णखोप सुनिश्चिता पालिका घोषणालाई अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई बञ्चित गराउन नहुनेमा जोड दिनुभयो । उहाँले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई धन्यवाद दिनुभयो ।







