
बागलुङ, ११ फागुन । बागलुङमा धौलागिरी अञ्चल विद्यालयस्तरीय सामुहिक मौलिक नृत्य प्रतियोगिता हुने भएको छ ।
नेपाल सांस्कृतिक नृत्य समुह बागलुङले फागुन १४ गते माध्यमिक विद्यालय (कक्षा १२सम्म)स्तरीय सामुहिक नृत्य प्रतियोगिता गर्न लागेको शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । समुहका अध्यक्ष रोशन राम्जाली मगरले नेपाली संस्कृति, परम्परा र लोक नृत्यहरु संरक्षण गर्ने र प्रबर्धन गने उद्धेश्यका साथ मौलिक नृत्य प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।
प्रतियोगितामा सहभागी विद्यालयहरुले नेपालका विविध सांस्कृतिक धरोहरहरुलाई नृत्य परम्परागत संगीतहरु, परम्परागत पोशाकहरुमा प्रस्तुत गर्नुपर्ने गरिने समुहका सचिव शुसिल काउचा मगरले बताउनुभयो । उहाँले नेपालको पुरानो संस्कृति, परम्परा र नयाँ पुस्तालाई जोड्न सघाउ पुग्ने अपेक्षाका साथ प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो।
प्रतियोगितामा हालसम्म ११ समुहले नाम दर्ता गराइसकेकोे आयोजकले बताएको छ । सचिव काउचाले हालसम्म बागलुङ बजार, गलकोट र म्याग्दीको बेनीबाट सहभागीहरुले नाम दर्ता गराएको जानकारी दिनुभयो । दर्ता शुल्क ५ हजार रुपैयाँ रहेको छ । प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ, द्धितिय हुनेले ३० हजार रुपैयाँ र तृतीय हुनेले २० हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष मगरले बताउनुभयो ।
प्रतियोगिता संचालनको लागि ३ लाख ४० हजार रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिता संचालनको लागि सहयोगी संघसंस्थाबाट सहयोग संकलन गरिएको र समुहले भैलो खेलेर ६० हजार रुपैयाँ संकलन गरेको सचिव काउचाले जानकारी दिनुभयो । प्रतियोगिताको निर्णयकमा पोखराका राहुल थाला र राजु गुरुङ रहेको आयोजकले जनाएको छ ।