अमेरिकामा ९९ प्रतिशत नेपाली वैध आप्रवासी

काठमाडौं, १५ माघ । अमेरिकामा ९९ प्रतिशत नेपाली वैध आप्रवासी भएको पाइएको छ । वैध नेपालीहरूलाई देश फिर्ता गरिने छैन ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीहरूलाई हतकडी र नेल लाएर धरपकड गर्दै धमाधम स्वदेश फिर्ता (डिपोर्ट) गरिरहँदा यस्तोमा पर्ने नेपालीको प्रतिशत १ भन्दा कम भएको देखिएको छ ।

अमेरिकाबाट प्रकाशन भएको नेपयोर्क न्यूज पोर्टलका अनुसार १३६५ नेपालीहरू कुनै कानुनी आधार बिना अमेरिकामा बसिरहेका छन् । यसरी बस्नेहरूमा सन २०१५ को जुन २४ पछि अमेरिका जानेहरू छन् ।

‘तल्लो बाटो’ अर्थात् मेक्सिकोको सीमा हुँदै पुग्ने नेपालीहरू यो सूचीमा अटेका छन् । यस्तै अमेरिकामा टेम्पोररी प्रोटेक्सन स्टाटस लिएर बसेका सन २०१५ जुन २४ अगाडिकालाई नि वैध बनाएर अमेरिकामै रहने पूर्ण प्रत्याभूति भने नभएको बताइएको छ ।

सबै गरेर तीन हजार बढी नेपालीहरू आगामी ६ महिनामा अमेरिकाबाट फिर्ता गर्ने सूचीमा पर्न सक्ने बताइएको छ ।