बिद्यालय स्तरीय नृत्य प्रतियोगितामा अमर आदर्श प्रथम

बागलुङ, २८ भदौं । युवाहरुको क्षमता र नेतृत्व बिकासमा सक्रिय बागलुङ जेसीज बर्ष २०२४ ले संचालन गरेको जेसीज सप्ताहको चौथो दिन बिद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

बिभिन्न खेलकुद, साँस्कृतिक तथा अन्य रचनात्मक कार्यक्रम सहित साताव्यापी रुपमा संचालन हुने गरि शुरु भएको जेसीज सप्ताह २०२४ को चौथो दिन बागलुङ नगरपालिका र सामाजिक बिकास कार्यालयको सहआयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

भदौ २९ गतेको बाल दिवसको सन्दर्भमा बालवालिकामा लगानी, सुनिश्चित भविश्यको थालनी भन्ने नाराका साथ बिद्यालय स्तरीय १० औ नृत्य प्रतियोगिता गरिएको सप्ताहका मुल संयोजक एवँ कार्यकारिणी उपाध्यक्ष बलराम कडेलले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकृत धनप्रसाद पोखरेलले गर्नुभएको थियो । उद्घाटनपछि बोल्दै उहाँले बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिताले महत्वपूण सहयोग पुगेको बताउनुभयो । कार्यक्रममा सामाजिक बिकास कार्यालयका प्रमुख हिमाल घर्तीले पनि मंतव्य व्यक्त गर्नु भएको थियो ।

८ बिद्यालयको सहभागीता रहेको प्रतियोगिताबाट अमर आदर्श आवसिय मावि प्रथम, न्यु ओयसिस एकेडेमि द्धितीय र युएस एकेडेमि तृतीय भएका छन् । बिजयी बिद्यालयलाई क्रमश १० हजार, ७ हजार र ५ हजार सहित ट्रफि र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रम बागलुङ जेसीज बर्ष २०२४ का अध्यक्ष गणेश महतोको अध्यक्षता, मुल संयोजक एवँ कार्यकारिणी उपाध्यक्ष बलराम कँडेलको स्वागत र कानुनी सल्लाहकार तथा कार्यक्रम संयोजक अन्जिला श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

भदौ ३१ गतेसम्म संचालन हुने सप्ताह अन्तरगतको पाँचौ दिन २९ गते शनिवार स्थापना दिवससंगै बिगतसंग बर्तमान कार्यक्रमको आयोजना गरिएको मुल संयोजक कडेलले जानकारी दिनुभयो ।