निबन्ध लेखन प्रतियोगितमा गणेश माविका सदिक्षा सुनार प्रथम

बागलुङ, १४ भदौ । १७औँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा विद्यामन्दिर पुस्तकालय बागलुङले आयोजना गरेको बागलुङ नगरपालिकाका माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगितामा नारायणस्थानस्थित गणेश माविका छात्रा सदिक्षा सुनार प्रथम हुनुभएको छ । ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ विषयमा शुक्रबार पुस्तकालयमा भएको उक्त प्रतियोगितामा कक्षा नौमा अध्ययनरत छात्रा सुनार प्रथम हुन सफल हुनुभएको हो ।

प्रतियोगितामा न्यू ओयसिस एकेडेमकीका छात्रा दृष्टि भण्डारीले द्वितिय स्थान हाँसिल गर्नुभएको पुस्तकालयका उपाध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार फ्यूचर ब्राइटर माविका विशाल परियारले तृतिय र चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका प्रमिशा केसीले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ । २२ विद्यालयका ३८ छात्र/छात्राले भाग लिएको उक्त प्रतियोगिताको निर्णायकमा धवलागिरि बहुमुखी क्याम्पसका उपप्राध्यापक हरिप्रसाद पाण्डेय र साहित्यकार धनराज सापकोटा ‘जिज्ञासू’ रहनुभएको थियो ।

प्रतियोगिताका विजेतालाई पुस्तकालयमा स्थापित गङ्गाप्रसाद स्मृति कोषबाट क्रमशः रु। चार हजार, तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने पुस्तकालयले जनाएको छ । शनिबार आयोजना हुने पुस्तकालय दिवसको मूल समारोहमा विजेता विद्यार्थीलाई पुरस्कृत गरिने छ । विद्यामन्दिर पुस्तकालयले पाँच दिवसीय कार्यक्रमसहित १७औँ राष्ट्रिय पुस्तकालय दिवस मनाइरहेको छ । यसअघि सरसफाइ सचेतनासहित दिवसको प्रचारात्मक कार्यक्रम, दुईदिने सृजनात्मक लेखन कार्यशाला, कैदीबन्दीलाई पुस्तक उपहारलगायतका कार्यक्रम सम्पन्न भइसकेको जनाइएको ।

शनिबार पुस्तकालयको बालविकास केन्द्रमा रहेका बालबालिकाको निःशुल्क आँखा परीक्षण, सहित दिउँसो सम्मान र पुरस्कार वितरणसहित मूल समारोहका साथै तीज पर्वको शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम आयोजना गरिएको पुस्तकालयका उपाध्यक्ष शर्माले जानकारी दिनुभयो । विसं २००३ सालमा स्थापना भएको विद्यामन्दिर पुस्तकालये बर्सेनि राष्ट्रिय पुस्तकालय दिवसलाई भव्य रुपमा मनाउँदै आएको छ ।