बुझ पचाएर सरुवा भनेपछिका छालहरू…

याम बहादुर थापा मगर
म अलि २८, २९ वर्षको उमेर ढल्केपछि लोक सेवा आयोगको परीक्षामा सामेल हुन थालेको हो । लामो समय साना किसान सहकारी संस्था लिमिटेड भकुण्डेमा कामकाज गर्दै अनेरास्ववियुको जिल्ला उपाध्यक्ष, युवा संघ नेपाल बागलुङको समेत उपाध्यक्ष, प्रेस चौतारी नेपालको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य सम्म भइसकेको थिए । पत्रकारितामा क्रियाशील रहँदैको समयमा नेपाल आदिवासी जनजाति पत्रकार संघ जिल्ला समिति बागलुङको संस्थापक सचिव समेत भएको थिए । तत्कालीन समयमा नेकपा एमाले बागलुङको इलाका नं. १ को इलाका सचिव पदमा नेतृत्व गरिसकेको थिए । अर्को तिर नेपाल मगर विद्यार्थी संघ क्याम्पस इकाई समिति, महेन्द्र बहुमुखी क्याम्पस बागलुङको सचिव, अध्यक्ष हुँदै केन्द्रीय समिति, काठमाडौँको महासचिव पदमा निर्वाचित भई आर्थिक अभावका बिच गरिरहेको थिए । राष्ट्रिय समाचार समिति धौलागिरी अञ्चल कार्यालय, बागलुङमा पत्रकारिता गर्दा जिल्ला देखि केन्द्रसम्मका थुप्रै तहका आदरणीय महानुभावहरूसँग परिचित हुने र समन्वय हुने मौका मिलेको थियो । त्यसै क्रममा निजामती सेवामा आरक्षण मार्फत समानुपातिक प्रणालीबाट केही चिनेका साथीहरू खरिदार, सुब्बामा पास भएको जानकारी हुन थाल्यो । त्यसभन्दा अगाडी एक दुई पटक हल्का तयारी गरेर खरिदारको परीक्षा दिएको थिए । तर नाम निकाल्ने गरी अध्ययन नभएकोले फेल भएपछि परीक्षा दिन छोडेको थिए । अध्ययन पनि सामान्य तरिकाले हुने र क्याम्पसमा आयोजक तथा अतिथि भएर थुप्रै कार्यक्रममा सहभागी हुँदैमा दिन बितेको पत्तै हुँदैनथ्यो । हरेक क्षेत्रमा हात हाल्ने तर सफलता र नेतृत्वमा पुग्न नसकेपछि वैवाहिक जीवन सुरुवात भएकोले एक पछि अर्को संघर्षका दिनहरू बितिरहेको थियो । लाहुरे भएका साथीहरू छुट्टीमा आउँदा आफू नतमस्तक भएर लाहुरेको तडकभडक हेर्ने गर्दथे ।

समय बित्दै गएपछि गाउँका केही लोक सेवा आयोगको परीक्षा पास गरेर न्याय प्रशासनमा नायब सुब्बा भएका लालसिंह थापा मगर (हाल जिल्ला न्यायाधीश पदमा कार्यरत), तिल बहादुर थापा मगर उपसचिव पदमा कार्यरत (बागलुङ नगरपालिका १० भकुण्डेका वडा अध्यक्ष पदमा प्रतिनिधित्व गर्नुहुन्छ ।), शिक्षक धनी प्रसाद शर्मा, भैरव माध्यमिक विद्यालय, खडग बहादुर थापा भैरव माध्यमिक विद्यालयका शिक्षक, भकुण्डेका शिक्षक खगराज रिजाल, महाविद्याजन माध्यमिक विद्यालय रायडाँडाका शिक्षक डोलचन्द्र शर्मा रिजालको उदाहरण बाबाआमाले घरमा पटक–पटक दिनुहुन्थ्यो । तर मलाई आत्माबोध तरिकाले ज्ञान हुन सकेको थिएन । वि.स. २०६५ सालको विज्ञापन लोक सेवा आयोगको परीक्षामा फाराम भरे । दुई, तिन वटा किताब खरिदार, नायव सुब्बाको किनेको थिए तर पुरा पाना अध्ययन गर्ने र स्पाइरल प्याडमा धमाधम लेख्ने काम एउटा किताबको पनि सकेको थिएन । मलाई स्पाइरल प्याड कपिमा लेख्न खुब मज्जा आउँथ्यो । धेरै लेखि सकेपछि थाहा भयो कि लोक सेवाको परीक्षामा त खाली सादा कपीमा लेख्न पर्छ । लाइन भएको कपिमा लेख्दा सादा पानामा लेख्दा लाइन छडके हुन्छ भन्ने जानकारी भएपछि त्यति नै मात्रामा सादा कपीमा लेख्न थाले । एउटा मात्र किताब पुरा नपढ्दै परीक्षा आइसकेको थियो । नायव सुब्बाको सबै पदहरूमा परीक्षाको फाराम पनि भरेको थिए । सामान्य ज्ञानका पाठ अर्को किताबका पढ्दा धेरै जसो जि.के. (सामान्य ज्ञान) पहिला नै थाहा भएको पाए । अब मलाई झन् पढ्नको लागि हौसला मिलेको थियो । परीक्षा दिएर बाहिर आउँदा त साथीहरूले मेरो त २२ वटा, अर्को साथीले मेरो त २३ वटा, झन् अर्को साथीले २४ वटा प्रश्न मिलाएको छु भन्छन् । मैले कुल २५ वटा प्रश्नमा मुस्किलले १९ वा २० वटा उत्तर मिलेको थिए ।

लेखनको दोस्रो पत्रमा पनि मैले जानेका र आत्मविश्वासका साथ उत्तर लेखेर दिए । प्रतिस्पर्धी साथीहरूले दोस्रो पत्रको उत्तरमा पनि मैले हुबहु किताब र संविधानको लेखे । संविधानको धारा, उपधारा, भाग मज्जाले लेखे भन्छन् । मैले साथीहरूले भने जसरी लेखेको थिइन । तरपछि लिखित परीक्षाको नतिजा प्रकाशन हुने समयमा २३ वटा र २४ वटा बस्तुगत प्रश्नको उत्तर दिने साथीहरूको नाम निस्केन । मेरो नाम सहित तिन जनाको नाम निस्केको थियो । अन्तरवार्ता के कसो हुने हो ढुक्क थिएन । अनुभवी पाका मानिसहरूलाई सोध खोजमा लागेर अन्तरवार्ता दिन आत्मबल भरेको थिए । अन्तरवार्तामा पनि पास भएर राजपत्र अंकित द्वितिय श्रेणी खरिदार पदमा जिल्ला विकास समितिको कार्यालय, बागलुङमा हाजिर हुन पुगे । जिल्ला विकास समिति बागलुङका स्थानीय विकास अधिकारी जनकराज पौडेल हुनुन्थ्यो । म नियुक्ति भई हाजिर हुन पाऊँ भन्ने निवेदन लिएर जाँदा बित्तिकै तपाईँलाई पढ्नको लागि समय दिइन्छ । शाखा अधिकृत, नायव सुब्बाको लागि तयारी गर्नुहोस् भन्नुभयो । किनभने म त्यसभन्दा अगाडी नै धेरै कार्यक्रम र जमघटमा जनकराज पौडेलसँग साक्षात्कार भैसकेको थिए । उहाँको बोली लटपटिएर बोल्ने गर्नुहुन्थ्यो । त्यही समयमा योजना तथा प्रशासकीय अधिकृतमा देवी प्रसाद सुवेदी कार्यरत हुनुन्थ्यो । उहाँको कार्यकक्षमा गएर संक्षिप्तमा जानकारी गराउँदा बित्तिकै भन्नु भयो हुन्छ नि याम जी केही प्रश्न र जिज्ञासाहरू छन् भने मलाई भन्नुस् म सहयोग गर्छु हजुरलाई भन्नुभयो ।

म हाजिर भई साथीहरूसँग तत्कालीन समयको गाउँ विकास समितिका सम्पर्क कार्यालयहरूमा गएर छलफल गर्न पुगे । साथीहरू तुरुन्तै गाउँ विकास समितिको जिम्मेवारी लिनुहोस् । लेखानी गाउँ विकास समिति खाली छ भन्नुहुन्थ्यो । त्यस समयमा गाउँ विकास समितिका सचिवलाई अध्यक्ष पदको समेत दोहोरो जिम्मेवारी भएकाले बहुत आकर्षक जागिर मानिन्थ्यो । उता स्थानीय विकास अधिकारी (एलडिओ) र योजना तथा प्रशासकीय अधिकृतसँग अध्ययन गर्ने कुराकानी भएको छ । म त रनभुल र चकमन्नमा पर्थे । हप्ता दिनसम्म कार्यालय हाजिर हुँदै सबै कर्मचारीहरूलाई अभिवादन गर्दै कोठामा जान्थे । म कार्यालयमा अभ्यस्त भएपछि झोलामा कापी, कलम, सुब्बाको किताब बोकेर विद्यामन्दिर पुस्तकालय, बागलुङमा नियमित पाठकका रूपमा जान थाले । पुस्तकालयमा आउने अरू पाठकहरूले पालो पर्खेर पत्रपत्रिकाहरू अध्ययन गर्दथे तर मैले आफूले लगेर गएको नायब सुब्बाको किताब अध्ययन गर्ने र लेख्ने काम गर्न थाले । बाटोमा भेट्दा साथीहरूले किन गाविसको जिम्मा लिन ढिला गरेको हो सर । काम हामीले सिकाइदिन्छौ भन्थे । मैले प्रत्यक्ष सिधा जवाफ दिन सक्दैनथे । लगातार जसो झन्डै सात महिना जति दैनिक कार्यालय हाजिर हुने र अध्ययनका लागि पुस्तकालय जाने दैनिकी हुन थाल्यो । नबुझेका, अस्पष्ट भएका बारेमा कापी टिपेर योजना तथा प्रशासकीय अधिकृत देवी प्रसाद सुवेदीलाई सोध्ने गर्दथे । उहाँले पनि ल्यापटपमा सर्च गरेर बुझिने गरी जवाफ दिन्थे । लगातार विद्यालय मन्दिर पुस्तकालयमा जाने बानीको विकासले मलाई वि.सं. २०६७ मा सर्वोकृष्ट पाठक सम्मान दिलाउन सफलता मिलेको थियो ।

नायव सुब्बा सँगै शाखा अधिकृतको समेत फाराम भरेको थिए । नायव सुब्बाको परीक्षा दिएपछि त जिम्मेवारी तोकिदिन्छन् होला भनेको सरुवा भई जानु भएका जनकराज पौडेल एलडिओले नयाँ आउनु भएको एलडिओ विष्णु बहादुर थापालाई याम बहादुर थापा पढ्ने मान्छे हो । शाखा अधिकृतको परीक्षासम्म जिम्मेवारी नदिनु भन्नु भएको रहेछ । विष्णु बहादुर थापाले समेत सहज वातावरण बनाइदिनुभयो । त्यही समयमा कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङका प्रमुख कोष नियन्त्रक नेत्र प्रसाद सुवेदीसँगको नजिकको सम्बन्ध स्थापित हुन पुग्यो । सामान्य ज्ञान, लेखन सिपमा बढवा दिनको लागि बिहानको समय झन्डै एक महिना भन्दा बढी समय नियमित सामूहिक समूहमा अध्ययन गर्ने काम समेत भयो । हाल नेत्र प्रसाद सुवेदी ‘प्रयास’ जिल्ला प्रशासन कार्यालय बागलुङमा प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत हुनुहुन्छ । परीक्षा दिई सकेपछि फेरी अर्को वर्षको लागि तयारी गर्नु थियो कि पदीय जिम्मेवारी लिनु थियो । मैले परीक्षा सकियो सर जिम्मेवारी दिनु पर्यो भनेर माग गरे । परीक्षा कस्तो भएको छ ? मैले जवाफमा ठिकै भएको छ भने । राम्रो भएको छ नाम निस्कन्छ भनेर ढुक्क तरिकाले भन्न सकिन । हुन्छ, अब लेखानी गाउँमा जाने कि भनेर प्रशासन शाखामा भनेको थिए । तर लेखानीमा पदस्थापना गर्न स्थानीय नेतृत्वबाट रोकावट भएको जानकारी प्राप्त भयो । सात महिना पछि मलाई दमेक गाउँ विकास समिति, बागलुङमा खटिएपछि सम्पर्क कार्यालय बागलुङ बजार हल्लनचोकबाट काम हुन थाल्यो । नरेठाँटी, मालिका, तित्याङ, दमेक, सिसाखानी गाविसहरुको संयुक्त कार्यालय रहेछ । पुराना साथीहरू पाका भएकोले सिफारिस पत्र लेख्न अभ्यास नभएकोले साथीहरूले सुरुमा सहयोग गरे । जिज्ञासु हुँदाहुँदै छ महिना बितेको पत्तै भएन ।

म दमेक गाउँ विकास समितिको कालापातल, देउराली खानी हुँदै भकुण्डे घरमा पसेर बागलुङ बजार आउने क्रममा थिए । कालापातलमा राम्रोसँग कुनै स्थानमा मोबाइलको टावरले टिप्दैन थियो । गोरखापत्रमा लोक सेवा आयोग क्षेत्रीय कार्यालय पोखराको नायव सुब्बाको लिखित परीक्षाका नतिजाहरू प्रकाशन भएको थाहा पाएर तत्कालीन प्रमुख कोष नियन्त्रक नेत्र प्रसाद सुवेदीले फोन गर्नुभएको रहेछ । मलाई मोबाइलमा सम्पर्क हुन सकेन भन्दो रहेछ । म जब हिड्दै देउरालीखानी उकालो भिरमा थिए । मलाई बधाई याम जी भन्दै खुसीको खबर फोन आयो । ल बागलुङ बजारमा भेट्नुपर्छ भन्दै । म घरमा गएर फेरी सूचना हेरी अन्तर्वाताको लागि सुझावहरू संकलनमा लागे । नायव सुब्बाको लिखित परीक्षा प्रशासन सेवाको प्रशासन, लेखा र राजश्व तथा न्याय सेवाको पदमा समेत निस्केको थियो । प्रशासन, न्याय समूहमा मेरो नाम अन्तरवार्ता निस्केन । लेखा समूहमा नाम निस्कयो । राजश्व समूहमा अन्तरवार्ता दिन पाइएनन् । म लेखापाल पदमा जिल्ला शिक्षा कार्यालय, म्याग्दी नियुक्ति भई कामकाज गर्न थाले । त्यसपछि पनि शाखा अधिकृतको परीक्षाको तयारी आफ्नो प्रयास जारी राखेपनि सफलता हासिल हुन सकेन । त्यसमा अंग्रेजी भाषा, बौद्धिक परीक्षणमा हल्का कमजोर भएका कारणले सफलता हासिल नभएको निष्कर्ष निकाले । तर ममा नियमित अध्ययनको निरन्तरता हुन सकेन । म म्याग्दीमा सरुवा नभई बढुवा भई गएको थिए र तर गाविसको सम्पर्क कार्यालयमा सँगै कामकाज गर्ने साथीहरू सबै खरिदार तहमा नै बढुवा नभई कामकाजमा थिए । उनीहरूलाई खोइ याम बहादुर थापा भन्दा उहाँ त सबै साथीहरूले एकै स्वरमा सरुवा भै बेनी, म्याग्दीमा जानुभएको छ भन्नुुहुँदो रहेछ साथीहरूले । सो बारेमा मलाई धेरै पछि मात्र दमेक गाउँका साथीले भने पछि थाहा भयो । म बागलुङ बजार आउँदा एक जना चिनेको सेवाग्राही साथीसँग भेटघाट हुँदा त उहाँले तपाईँको त सरुवा भएर बेनी जानु भएछ भन्नु भएपछि सहकर्मी साथीहरूबाट बौद्धिक स्तरको जवाफ दिनुभए भएछ । धेरै अनपढ मानिसहरूलाई सरुवा बढुवा बारेमा भिन्नता छुट्याउन गाह्रो थियो । मैले सरुवा होइन बढुवा भएर गएको हो भनी स्पष्टसँग जवाफ दिए ।

अन्तमा, सँगै छोटो समय कामकाज गरेको साथीहरूबाट भएको झुट विवरण मेरा बारेमा जानकारी दिएकोमा अहिले पनि समय समयमा घतलाग्दो घटनाको रूपमा ताजा बनेर मष्तिकमा रहन्छ । सँगै कामकाज गरेको साथीहरू मध्ये एक जना अमेरिका जानु भएको छ । एक जना उमेर हदका कारण अवकाश हुनुभएको छ । अरू दुई जना नायव सुब्बा पदमा सेवारत हुनुहुन्छ । भन्दै बाँकी भाग अर्को पटक लेख्ने छु ।

बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे, धौलेचउर, बागलुङ