ढोरपाटन, २ पुस । बागलुङका गलकोट नगर अस्पताललाई विद्युतीय शव गृह उपलब्ध गराइएको छ ।
गलकोट नगरपालिका–६ नेपानेका झप्परबहादुर बस्नेतले बुबा वीरबहादुर र आमा मनकुमारीको स्मृतिमा विद्युतीय शव गृह सहयोग गरेका हुन् । बस्नेत परिवारले रु आठ लाख बढीको विद्युतीय शव गृह नगर अस्पताललाई सहयोग गरेको हो ।
गलकोट नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले यसअघि विद्युतीय शव गृह नहुँदा अस्पतालको कामकाजमा बाधा पुग्ने गरेको बताए । “विद्युतीय शव गृह नहुँदा सडेको शव परीक्षण गर्नु परिरहेको थियो”, उनले भने ।
पश्चिम बागलुङमै विद्युतीय शव गृह थिएन । यस्तो अवस्थामा शव धेरै दिनसम्म राख्न राख्न मुश्किल हुने गरेको थियो । डा। पौडेलका अहिले प्राप्त भएको विद्युतीय शवगृहमा दुईवटा शव राख्न सकिन्छ । “शवलाई सुरक्षितरुपमा राख्न बागलुङ पुग्नुपर्ने अवस्था थियो”, उनले भने ।
विद्युतीय शव गृह सहयोगकर्ता बस्नेतले अस्पताललाई चाहिने अन्य सामग्री पनि निरन्तर सहयोग गर्दै जाने बताए । पश्चिम बागलुङका छ पालिकाका स्वास्थ्य संस्थामा एउटा पनि विद्युतीय शव गृह छैन । सदरमुकामस्थित धौलागिरि अस्पतालमा शव राख्नुपर्ने बाध्यता थियो । रासस