
बागलुङ, २६ मंसीर । बागलुङका किसानले लगाएको सुन्तलामा औंसा किराको प्रकोप कारण उत्पादन घटेकोे छ । पाकेर टिप्ने बेला भएका सुन्तलामा औंसा किराले क्षति पुर्याएपछि किसान चिन्तित बनेका छन् ।
बजेट अभावमा औंसा किराको संक्रमणलाई न्यूनीकरण गर्न नसक्दा पछिल्लो समय सुन्तला उत्पादनमा कमी आएको बागलुङ नगरपालिका–८ सिगानाका कृषक रामबहादुर खड्काले बताए । उनले यसपटक बिक्रीका लागि तयारी गरिरहँदा बगानमा मात्रै नौ प्लास्टिक सुन्तला औंसा किराको संक्रमणबाट झरेर संकलन गरकोे बताए । पछिल्लो समय बर्सेनि सुन्तला उत्पादनमा कमी आइरहेको कृषक खड्काले बताए ।
कृषि ज्ञान केन्द्र बागलुङका बागबानी विकास अधिकृत कुमार पुनले जिल्लामा धेरै सुन्तला उत्पादन हुने क्षेत्रमा औंसा किराले समस्या दिन थालेको बताए । उनले यस वर्षदेखि औंसा किरा नियन्त्रणका लागि कार्यालयले बजेट विनियोजित गरेको बताए । ‘गत वर्ष बजेट अभावमा उपचार गर्न सम्भव भएन,’ अधिकृत पुनले भने, ‘चालू आर्थिक वर्षमा नियन्त्रणका लागि ६ लाख रुपैयाँ बजेट विनियोजित गरेका छौं ।’
