बागलुङ, २४ कार्तिक । बागलुङ नगरपालिकाले चिनीको खुद्रा विक्री मूल्य निर्धारण गरेको छ । नगरपालिकाले तिहार लगायतका चाडपर्वलाई लक्षित गरी चिनीको मुल्य बढीमा रु. १ सय २० रुपैयाँमा तोकेको हो ।
बागलुङ नगरपालिकाका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक राजु खड्काले बजार क्षत्रमा चिनीको अभाव रहेको अवस्थामा प्रधान ब्रदर्श मार्फत खरिद गरिएको चिनीको मुल्य १ सय २० रुपैयाँ निर्धारण गरिएको बताए । उनले प्रधान ब्रदर्श मार्फत खरिद गरिएको चिनीलाई बजार क्षेत्र तथा वडा तहसम्ममा बजार वयवस्थापमा आवश्यक सहययोग र सहजिकरण गर्न निर्णय गरिएको बताए ।
बजार क्षेत्रभन्दा टाढा रहेका वडाहरुमा बागलुङ नगरपालिकाले ढुवानी सेवा उपलब्ध गराउने उपप्रमुख खड्काको भनाई छ । बागलुङमा व्यवसायीहरुले चिनी रु. १३५ रुपैयाँ प्रतिकेजीमा विक्री गर्दै आएका थिए ।
नगरपालिकाले बजार अनुगमनका क्रममा व्यवसाय दर्ता, नविकरण नगरिएको,म्याद गुज्रेका सामानहरु पसलमा भेटिएको, गुणस्तरीय मापदण्ड पुरा नगरेको, मिठाईजन्य खानेकुरा आफुखसी प्याकिङ गरेको, खानेकुराहरुमा रङ मिसावट गरिएको, पसलमा मुल्यसूची नराखिएको, मुल्य तोकिएका सामानको तोकिएको मुल्य भन्दा बढीमा विक्री गरेको त्रुटिहरु देखिएको उपप्रमुख खड्काले बताए । उनले त्रुटि गर्नेहरुलाई सचेत गराइएको र अन्यथा नियमानुसार कारवाही गरिने जानकारी गराइएको बताए ।