
बागलुङ, १८ असोज । बागलुङको काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०र०८१ का विकास निर्माणका योजनाहरुको सम्झौता गर्न एकीकृत घुम्ती सेवा संचालन गर्ने भएको छ ।
गाउँपालिकाका शाखाहरुबाट हुने सेवा प्रवाहलाई जनताको घरआगनबाटै संचालन गर्नको लागि एकीकृत घुम्ती सेवा संचालन गर्न लागेको काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापाले बताए । उनले एकीकृत घुम्ती शिविरमा चालु आर्थिक वर्षका विकास निर्माणका योजनाहरुको सम्झौताको साथै अपाङ्गता परिचयपत्र, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, निःशुल्क स्वास्थ्य परीक्षण (नसर्ने रोगको स्क्रिनिङ), आयुर्वेद स्वास्थ्इ सेवा र कृषि तथा पशु सेवा सम्बन्धी जानकारी दिइने बताए ।
‘विकास निर्माणको काम गर्नको लागि उपभोक्ता समुह गठन गरेर योजनाहरुको सम्झौता गर्न गाउँपालिका आउनुपर्ने बाध्यता छ,’ उपाध्यक्ष थापाले भने,‘पालिका आउनुपर्ने कारणले उपभोक्ताहरुले समयमा योजना सम्झौता नगर्दा धेरै विकास निर्माणका कामहरु समयमै सम्पन्न हुन नसक्ने अवस्था छ । त्यसैले समयमै योजनाहरुको कार्य सम्पन्न गर्नको लागि वडामै पुगेर योजनाहरु सम्झौता गर्न लागेका हौं ।’
जनतालाई उनीहरूको घर आगनमै पुगेर सेवा दिने लक्ष्यसहित कार्यक्रम सुरुवात गर्न लागिएको गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए । ‘स्थानीय सरकारले नागरिकहरुको घरआगनमै पुगेर सेवा दिनुपर्छ,’ अध्यक्ष थापाले भने,‘गत वर्षहरुमा गाउँपालिकाले वडा तहमा पुगेर योजनाहरुको मात्र सम्झौता गर्ने गरेको थियो । यस वर्ष योजनाहरुको सम्झौताका साथै अपाङ्गता र ज्येष्ठ नागरिक परिचयपत्र वितरण र स्वास्थ्य सेवा दिनेछौं ।’
गाउँपालिकाले आश्विन १८ गते (बिहिबार) वडा नम्बर १ पालाकोटबाट एकीकृत घुम्ती शिविरको सुरुवात गर्दैछ । यस्तै आश्विन १९ गते वडा नम्बर २ भीमापोखरामा, २१ गते वडा नम्बर ३ धम्जामा, २२ गते वडा नम्बर ४ तंग्राममा, २३ गते वडा नम्बर ५ विहुँकोटमा, २४ गते वडा नम्बर ६ विहुँकोटमा, २५ गते वडा नम्बर ७ रेशमा र २६ गते वडा नम्बर ८ लेखानीमा एकीकृत घुम्ती सेवा संचालन गरिने उपाध्यक्ष थापाले बताए ।