
बागलुङ, २३ भदौ । बागलुङ नगरपालिका–९ तित्याङका निवर्तमान वडाअध्यक्ष गणेश बहादुर थापा मगरको उपचारको लागि आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ ।
स्पाइनल कर्ड र रिब्समा Condrosarcoma Stage 2 मेरुदण्डको कन्ड्रोसरकोमा (हड्डीमा लाग्ने एक प्रकारको क्यान्सर)को जटिल रोगबाट ग्रसित सामाजिक सेवामा क्रियाशिल थापाको उपचारको लागि गणेश बहादुर थापा मगर उपचार सहयोग समिति बागलुङ स्थापना गरी सहयोग संकलन अभियान सञ्चालन गरिएको हो । थापाको उपचारको लागि करिव ८० लाख रुपैयाँ लाग्ने भन्दै थप उपचारको लागि सहयोग गर्न अनुरोध गरिएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि थापाले केही समय अगाडि स्पाइनल कर्डमा र २ वटा करङमा भएको ट्युमरको काठमाडौ न्युरो अस्पतालमा अप्रेशन गर्नुभएको थियो । अप्रेशन पछि पनि थापाको स्वास्थ्यमा थप समस्या आएपछि उहाँ नेपाल क्यान्सर अस्पताल हरिसिद्धि काठमाण्डौ पुग्नुभएको थियो । त्यहाँ उपचार नहुने भएपछि भारतमा रहेको राजिव गान्धी क्यान्सर ईन्ष्टीच्युट तथा रिसर्च सेन्टरमा परीक्षण र परामर्श गर्न पुग्नुभएको थियो ।
भारतस्थित राजिव गान्धी क्यान्सर इन्ष्टिच्युट तथा रिसर्च सेन्टरमा परीक्षण र परामर्शपछि भारतको चेन्नाइ स्थित एपोलो प्रोटोन क्यान्सर सेन्टरमा उपचारका लागि जाने तयारीमा रहनुभएको थियो । चेन्नाइ स्थित उक्त असप्तालमा उपचार र औषधीको लागि नेपाली एक करोड रुपैयाँ भन्दा बढी खर्च हुने अवस्था आएपछि सहयोग सङ्कलन अभियान सुरु गरिएको गणेश बहादुर थापा मगर उपचार सहयोग समिति बागलुङका सँयोजक चन्द्रबहादुर थापा मगरले जानकारी दिनुभयो ।
पीडित थापाले आफु विरामी भएपछि करिब १० लाख रुपैयाँ खर्च भएको बताउनुभयो । उहाँले त्यसले पनि उपचार नपुगेको तर आफुलाई बाँच्ने रहर रहेको उल्लेख गर्दै सहयोग गर्न अनुरोध गर्नुभयो । ‘हालसम्मको उपचारमा १० लाख रुपैयाँ खर्च भइसकेको छ, अब अझै नेपाली करिब ८० लाख रुपैयाँ चाहिन्छ भनेको छ’ थापाले भन्नुभयो,‘मैले जुन कुरा चाहेको थिएन त्यहि कुरा भन्नु परेको छ, एक पटक मलाई सहयोग गरिदिनुस म बाँच्न चाहन्छु ।’
थापाको उपचारका लागि निजको श्रीमती गीता थापा मगरको नाममा ग्लोवल आइएमइ बैङ्क बागलुङ शाखाको खाता नम्बर ०१२०७०१०२०७४८५ नम्बरमा र फोनपे प्रयोगकर्ताले मोवाइल नम्बर ९८६७६४९१०० मार्फत सहयोग गर्न सक्नेछन् । साथै सहयोग समितिका संयोजक चन्द्रबाहादुर थापा मगर ९८५७६२१०८५, श्याम पुन ९८५७६३४८१० र ९८६७६९३४७८ मा पनि सम्पर्क गर्न सकिनेछ ।