तिल कुमारी के.सी. (अस्मिता)
बागलुङ, १७ भदौ । गण्डकी प्रदेशकी उपसभामुख बिनाकुमारी थापाले सहकारीहरु राम्रो गराउने जिम्मेबारी संचालक र शेयर सदस्य सवैको हुने बताउनुभएको छ ।
गुहेली युनिक सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको शनिबार सम्पन्न १७ औं स्थापना दिवस एवं बार्षिक साधारणसभाको उद्घाटनपछि बोल्दै उपसभामुख थापाले सहकारीको बारेमा अवस्थाको बारेमा शेयर सदस्यहरुले संचालक र कमचारीहरुलाई बार्षिक साधारणसभा बाहेक अन्य समयमा पनि सोधि राख्नुपर्ने बताउनुभयो । ‘सहकारीमा जम्मा गरेको १/१ रुपैयाँ बचत रकम सुरक्षित रहेको नरहेको र संस्था कसरी संचालन भइरहेको छ भन्ने बारेमा शेयर सदस्यहरुले बार्षिक साधारणसभा बाहेक अन्य समयमा पनि कर्मचारी र संचालकसँग बुझ्नुपर्छ,’ उपसभामुख थापाले भन्नुभयो,‘सहकारी राम्रो गराउने जिम्मेबारी संचालक र कर्मचारीको मात्र होइन सवै शेयर सदस्यहरुको पनि हो । त्यसैले नियमित बचत गर्ने र ऋण समयमै भुक्तानी गर्ने गर्नुपर्छ ।’
उपसभामुख थापाले नियत र नियम राम्रो भएका सहकारी संस्थाले मात्रै सदस्यहरुको हितमा काम गर्न सक्ने बताएकी छन् । नियत गलत भएका सहकारीका सञ्चालक र नियम पालना नगर्ने केही सहकारीका कारण सहकारी क्षेत्रकै बदनाम भैरहेको उहाँको भनाई थियो ।
स–सानो पुँजी संकलन गरेर बेरोजगारहरुलाई स्वरोजगार बन्न सहयोग गरिरहेका सहकारीमाथी साना–ठुला शहरका केही सहकारीमा आएको समस्या देखाएर प्रहार गर्ने काम भैरहेको थापाले बताउनुभयो । ‘साहुको चर्को व्याजबाट सर्वसाधारणलाई बचाउन सहकार्य गर्न सहकारीको उदय भएको हो’ थापाले भन्नुभयो,‘नेपालमा राणा कालदेखिनै गुठी लगायतका बिभिन्न नाममा सहकारी अनौपचारिक सुरुवात भएको हो, अहिले बिधि र बिधानमा चल्ने गरी सहकारीलाई व्यवस्थापन गरिएको छ ।’
सहकारीको सञ्चालन, नियमन र कारवाहीको अधिकार तीन तहकै सरकारमा बाँडिएको उपसभामुख थापाको भनाई छ । उहाँले देशभर रहेका २९ हजार बढी सहकारीमध्ये केही कारोवार बिग्रिएका सहकारीको मात्रै चर्चा हुने गरेको तर राम्रा सहकारीको कसैले अनुसरण नगरेको गुनासो गर्नुभयो । ‘ऋणीहरुले समयमा ऋण तिर्ने, सञ्चालकहरुले नियत र नियम बसमा राखेर काम गर्नुपर्छ’ थापाले भन्नुभयो,‘अन्धभक्त भएर सञ्चालकहरुलाई सदस्यले विश्वास गरेका कारणले पनि सहकारी बिग्रएका हुन्, खबरदारी गरौं ।’
काठेखोला गाउँपालिका – २ भीमापोखरामा भएको साधारणसभामा बोल्दै काठेखोला गाउँपालिकाका संस्थापक अध्यक्ष अमर थापाले सहकारीका शेयर सदस्यहरु उत्पादनसँग जोडिनुपर्नेमा जोड दिनुभयो । परम्परागत शैलीको उत्पादनलाई आधुनिक प्रणालीमा लैजाने र स्वरोजगार बन्नका लागि सहकारीको सहायता लिन थापाले आग्रह गर्नुभयो । सहकारीका सल्लाहकार तथा काठेखोला–२ का वडा अध्यक्ष बिद्यापति शर्माले स्थानीय सरकारले सहकारीहरुलाई जिम्मेबार बनाउने र सहयोग गर्ने काम गरिरहेको बताउनुभयो । सल्लाहकार तथा ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमले सहकारीको मर्म बुझेर कारोवार गर्न शेयर सदस्यहरुलाई सुझाव दिनुभयो ।
कार्यक्रममा सहकारीका सल्लाहकार चन्द्रमणी उपाध्याय, ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहरा, शेयर सदस्य बिष्णु सापकोटा, प्रगति सहकारीका अध्यक्ष कृष्ण प्रसाद पौडेल (कुमार) लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
साधारणसभामा सहकारी प्रति चासो व्यक्त गर्ने शेयर सदस्यको तर्फबाट कर्ण बहादुर थापा, राष्ट्रिय जनमोर्चा बागलुङको अध्यक्षमा निर्वाचित भएकोमा सहकारीका शेयर सदस्य तेज बहादुर थापा ‘तिलक’लाई सम्मान गरिएको थियो । यस्तै सहकारीका उपाध्यक्ष टिकाराम उपाध्यायको परिवारले स्वर्गिय बावा कलाधर उपाध्याय र आमा गौरी उपाध्यायको स्मृतिमा सञ्चारको क्षेत्रमा काम गर्ने सञ्चारकर्मी र ज्येष्ठ नागरिकलाई सम्मान गर्ने उद्देश्यले सहकारीमा स्थापना गरेको ‘कलागौरी स्मृति अक्षयकोष–२०७५’बाट यस वर्ष सञ्चार क्षेत्र तर्फ ढोरपाटन दैनिक पत्रिकाका कार्यकारी सम्पादक रामकृष्ण बोहोरा र ज्येष्ठ नागरिक तर्फ संस्थाका शेयर सदस्य प्रमानन्द जैसीलाई पुरस्कृत गरिएको छ । यस्तै गत आर्थिक वर्षमा बालबचत कर्तामा उत्कृष्ट कारोबार गर्ने अनुषा थापालाई सम्मान गरिएको थियो ।
सहकारीका अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको बार्षिक साधारणसभाको स्वागत उपाध्यक्ष गिता हमाल र संचालन सचिव सूर्य थापाले गर्नुभएको थियो ।
साधारणसभाले गुहेली सञ्चार सहकारी संस्था र युनिक सञ्चार सहकारी संस्था गाभिएर बनेको तदर्थ समितिलाई नै बाँकी कार्यकालका लागि जिम्मेबारी दिएको छ । अध्यक्षमा खिमबहादुर कार्की, उपाध्यक्षमा गीता हमाल साही, सचिवमा सूर्यबहादुर थापा र कोषाध्यक्षमा टिकाराम शर्मा चयन भएका छन् । सदस्यहरुमा तारानाथ आचार्य, सीता शर्मा, तारा केसी कार्की र सिता किसान रहेका छन् । यस्तै साधारणसभाले सहकारीको नामबाट गुहेली सञ्चार सहकारी संस्था लिमिटेड राख्ने र सहकारीको राहत कोषको नाम युनिक राहत कोष राख्ने निर्णय गरेको छ ।
सहकारीका अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत उपाध्यक्ष गिता हमाल शाही र संचालन सचिव सुर्य बहादुर थापाले गर्नुभएको थियो ।
२०६४ सालमा काठेखोला गाउँपालिका–२ भीमापोखरामा स्थापना भएको सहकारीले हाल दुई स्थानमा कार्यालय संचालन गरि सेवा प्रवाह गरिरहेको छ । सहकारीले मुख्य कार्यालय भीमापोखरामा साप्ताहिक र मासिक कारोबार र सेवा कार्यालय बागलुङ बजारबाट दैनिक कारोबार गर्दै आएको छ ।
सहकारीले जननिगरानी साप्ताहिक पत्रिका र खबरवेडटकम अनलाईन संचालन गरिरहेको छ । संचार तथा अन्य सामाजिक एवम् बिपतको क्षेत्रमा समेत काम र सहयोग गर्दै आएको सहकारीले यस वर्षदेखि मुख्य कार्यालय भीमापोखरामा आफ्नै भवनबाट कृषि उपज संकलन केन्द्र स्थापना गर्ने र दैनिक कारोबार संचालन गर्ने तयारीमा गरेको अध्यक्ष खिम बहादुर कार्कीले बताउनुभयो ।
गुहेलीका कारोबार ७ करोड बढी
जिल्लाको काठेखोला गाउँपालिका मुख्य कार्यालय रहेको गुहेली युनिक सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले गत आर्थिक वर्षमा ७ करोड ४९ लाख रुपैयाँ बढीको कारोबार गरेको छ ।
सहकारीको शनिबार सम्पन्न १७ औं बार्षिक साधारणसभामा सहकारीका कोषाध्यक्ष टिकाराम शर्माले गतआर्थिक वर्ष २०७९÷०८० को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै ७ कराोड ४९ लाख ७२ हजार ३ सय १६ रुपैयाँको कारोबार गरेको बताउनुभयो । उहाँले सहकारीको शेयर पूँजी १ करोड १४ लाख ८० हजार ५ सय रुपैयाँ र शेयर सदस्य ९ सय १५ जना रहेको बताउनुभयो ।
सहकारीले गतआ.व.मा ४४ लाख ९२ हजार २ सय ८१ रुपैयाँ आम्दानी, ४२ लाख ३७ हजार ५०२ रुपैयाँ खर्च र २ लाख ५४ हजार ७ सय ७९ रुपैयाँ नाफा गरेको कोषाध्यक्ष शर्माले बताउनुभयो । साधारणसभाले सहकारीका सचिव सूर्य थापाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष टिकाराम शर्माले प्रस्तुत गरेका आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।