
राजेशचन्द्र राजभण्डारी,
बागलुङ, ८ बैशाख । जिल्लामा सवारीसाधनकाे चाप बढ्नुका साथै ट्राफिक प्रहरीको सक्रियता बढेपछि बागलुङमा ट्राफिक प्रहरीले गर्ने राजस्वमा समेत बृद्वि भएर गएको छ । सवारी नियम उलंघन गर्ने कागजात चुष्ट दुरुस्त नराखिकन सवारीसाधन चलाउने चालकलाई कार्वाही गरेपछि गतबर्षको तुलनामा चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा राजस्व समेत बढेको छ ।
ट्राफिक प्रहरीले सक्रियता बढाएसंगै बागलुङ जिल्लामा जथाभावी रूपमा नियम बिपरित सवारीसाधन चलाउने चालक कार्वाहीमा परेपछि ट्राफिकले संकलन गर्ने राजस्व समेत बृद्वि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले गत आर्थिक वर्षको तुलनामा चालु वर्षको चैत मसान्तसम्म ९ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
गत आर्थिक वर्ष २०७८–७९ को असारसम्ममा रु ६९ लाख ९८ हजार पाँच सय राजस्व सङ्कलन भएकोमा चालु वर्षको चैतसम्म जिल्ला ट्राफिकले रु ७५ लाख ९१ हजार पाँचसय सङ्कलन गर्न सफल भएको हो । यो रकम गत आर्थिक वर्ष असारभन्दा रु ६ लाख ९३ हजार बढी राजस्व संकलन गर्न सफल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ट्राफिक व्यवस्थापनमा ध्यान दिँदा राजस्व सवारी दुर्घटनामा न्यूनीकरणमा सहयोग र राजस्वमा समेत वृद्धि भएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख प्रहरी निरीक्षक मीनबहादुर खड्काले बताए । सीमित जनशक्तिका बाबजुत अघिल्लो वर्षको तुलनामा नियमित जाँच, कारबाही र अनुगमन पनि बढाइएको खड्काले बताए ।
ट्राफिक व्यवस्थापनका लागि सचेतना अभियान पनि सञ्चालन गरिएको, “ट्राफिक नियम पालना नगर्ने र अनियमितता बढ्न थालेपछि हामीले बागलुङ बजारका मुख्य मुख्य क्षेत्र र ग्रामीण क्षेत्रमा ट्राफिक नियमबारे सचेतना अभियान सञ्चालन गरेको छ ।अटेर गर्ने सवारी साधनमाथि कारबाही गरेकाे कारबाहीमा कडाइ गर्न थालेपछि सवारी दुर्घटना पनि कम भएको बताए।
ट्राफिक जाँचका क्रममा यस आव चैतसम्म १० हजार छसय सवारी चालक कारबाहीमा परेका हुन् । जसमध्ये कारबाहीमा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल चालक ४ हजार एक सय ४२ रहेका छन् ।
लाइसेस्स, ब्ल्यु बुकबिनै हिड्ने, हेल्मेट नलगाई चलाउने, नियम पालना नगर्नेजस्ता क्रियाकलाप धेरै हुने गरेको छ । त्यसपछि अनियमितता गर्नेमा ट्रक, रातो प्लेटका पिकअप जिपलगायत रहेका छन् । गत बर्ष असार मसान्तसम्म ११हजार ५ सय ५० सवारीसाधन कार्वाहीमा परेकोमा यस आर्थिक बर्ष २०७९–८० काे ९ महिनाको अवधिमा १० हजार ६ सय सवारीसाधन कार्वाहीमा परिसकेको तथ्यांक बाट देखिन्छ ।
ट्राफिक जनचेतना कार्यक्रम गाउँ गाउँमा स्कुल स्कुलमा पुर्याएपछि सवारी दुर्घटनामा समेत केही कमि आएको देखिन्छ ।गत बर्ष २१ वटा सवारीसाधन दुर्घटनामा परि ११ जनाको मृत्यु ३५ जना घाइते भएकोमा यश बर्ष १६ सवारीसाधन दुर्घटनामा ७ जनाको मृत्यु र २२ जना घाइते भएको देखिन्छ ।
बागलुङ जिल्लाकाे ४ वटा नगरपालिका र ६ वटा गाउँ पालिकामा २७ जना ट्राफिक प्रहरी खटिएका छन् जसमध्ये सदरमुकाममा १३ जना १४ जना ग्रामीण क्षेत्रमा कार्यरत छन् । बागलुङ जिल्लामा १५ जनामात्र ट्राफिक प्रहरीको दरबन्दी रहेकोमा १२ जना ट्राफिक प्रहरी भने काजमा कार्यरत छन् ।
