बागलुङका स्थानीय तहको बेरुजु बढ्यो, सबैभन्दा बढी तमानखोलाको बेरुजु

बागलुङ, ६ बैशाख । महालेखा परीक्षकको कार्यालय (मलेप)ले सार्वजनिक गरेको ६० औं वार्षिक प्रतिवेदनमा बागलुङका दस स्थानीय तहको बेरुजु रकम ४२ करोड ७२ लाख ७४ हजार रुपैयाँ रहेको पाइएको छ ।

महालेखाको प्रतिवेदनअनुसार बागलुङका स्थानीय तहमा आर्थिक वर्ष २०७७-०७८ मा भन्दा आर्थिक वर्ष २०७८-०७९ मा बेरुजु रकम दोब्बर बढेको देखिएको हो । गतआर्थिक वर्ष २०७८-०७९ मा १३ अर्व ३६ करोड २५ लाख ६६ हजार रुपैयाँ लेखापरीक्षण गर्दा ४२ करोड ७२ लाख ७४ हजार रुपैयाँ बेरुजु भएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७७-०७८ मा बागलुङको बेरुजु रकम २० करोड ९७ लाख ४८ हजार रहेको थियो ।

६ गाउँपालिका र चार नगरपालिका रहेको बागलुङमा बजेट अनुपातका आधारमा यसपटक सबैभन्दा बढी तमानखोला गाउँपालिकामा (५ दशमलव ०७ प्रतिशत) र सबैभन्दा कम गलकोट नगरपालिकामा (० दशमलव ०८ प्रतिशत) देखिएको छ । तमानखोला गाउँपालिकाको ६५ करोड ३१ लाख १३ हजार रुपैयाँको लेखा परीक्षण गरेकोमा ३ करोड ३० लाख ८९ हजार रुपैयाँ बेरुजु देखिएको छ । यस्तै गलकोट नगरपालिकाको १ अर्ब ७१ करोड ८ लाख २९ हजार रुपैयाँको लेखा परीक्षण गर्दा १४ लाख ३५ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

बागलुङ नगरपालिकाको २ अर्ब ३७ करोड ३७ लाख ८५ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ११ करोड ८२ लाख ३ हजार रुपैयाँ, जैमिनी नगरपालिकाको १ अर्ब ७१ करोड ७५ लाख ३४ हजार रुपैयाँको लेखापरीक्षणबाट ६ करोड ८६ लाख ९४ हजार रुपैयाँ र ढोरपाटन नगरपालिकाको १ अर्ब ३२ करोड ३२ लाख ५४ हजार रुपैयाँको लेखापरीक्षणबाट ३ करोड २२ लाख ११ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै काठेखोला गाउँपालिकाको १ अर्ब २७ करोड ४६ लाख ६७ हजार रुपैयाँको लेखापरीक्षणबाट ४ करोड ७६ लाख रुपैयाँ, बरेङ गाउँपालिकाको ८६ करोड ५ लाख ९० हजार रुपैयाँको लेखापरीक्षणबाट ९९ लाख ८९ हजार रुपैयाँ, निसीखोला गाउँपालिकाको १ अर्व १२ करोड १२ लाख १० हजार रुपैयाँको लेखापरीक्षण गर्दा ५ करोड १४ लाख २६ हजार रुपैयाँ, ताराखोला गाउँपालिकाको ८३ करोड २५ लाख ४० हजार रुपैयाँको लेखापरीक्षण गर्दा ५४ लाख ४५ हजार रुपैयाँ र बडिगाड गाउँपालिकाको १ अर्व  ४९ करोड ५० लाख ४४ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ५ करोड ९१ लाख ८२ हजार रुपैयाँ बेरुजु रहेको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

अघिल्लो वर्षमा सबैभन्दा बढी बेरुजु काठेखोला गाउँपालिकाको ३ दशमलव ५० प्रतिशत र सबैभन्दा कम बडिगाड गाउँपालिकामा १ दशमलव २६ प्रतिशत थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here