
अर्जुन कार्की/वीर बहादुर थापा
बागलुङ, १७ चैत । बैधानिक रुपमा शिकार गर्न पाउने नेपालको एक मात्र शिकार आरक्ष ‘ढोरपाटन शिकार आरक्ष’मा पछिल्लो पाँच वर्षमा बँदेलको शिकार हुन सकेको छैन ।
नाउर, झारल, बँदेल, रतुवा र मृगको शिकार हुँदै आएको ढोरपाटनमा आर्थिक वर्ष २०७३/०७४ पछि ढोरपाटनमा बँदेलको शिकार हुन नसकेको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत विरेन्द्र कंडेलले बताए ।
ढोरपाटनमा हरेक वर्ष दुई पटकसम्म शिकार याम संचालन हुन्छ । पहिलो (असोज–कार्तिक) र दोस्रो (फागुन–बैशाख) याम नाउर, झारल र बँदेलहरुको शिकारको लागि बोलपत्र आव्हान गरेर अनुमति प्राप्तहरुलाई शिकारको लागि खुल्ला गरिन्छ । हरेक वर्ष नाउर र झारलको शिकार भइरहेपनि ढोरपाटनमा पछिल्लो पाँच वर्षदेखि बँदेलको शिकार शुन्य रहेको प्रमुख संरक्षण अधिकृत कंडेलले बताए ।
ढोरपाटनमा शिकार गर्नको लागि चार प्रकारको अनुज्ञापत्र (लाईसेन्स) लिनुपर्ने आरक्षका प्रमुख संरक्षण अधिकृत विरेन्द्र कंडेलले बताए । ढोरपाटनमा वन्यजन्तुको शिकार गर्नको लागि जिल्ला शिकार अनुज्ञापत्र, सामान्य शिकार अनुज्ञापत्र, पुरक शिकार अनुज्ञापत्र र पंक्षित शिकार अनुज्ञापत्र गरी चार किसिमका शिकार अनुज्ञापत्र (लाईसेन्स) र अन्य इजाजतपत्र (प्रमिट) लिनुपर्छ । आरक्षमा नाउर र झारल शिकार गर्न पुरक शिकार अनुज्ञापत्र र रतुवा, मृगको शिकार गर्न सामान्य शिकार अनुज्ञा पत्र लिनुपर्ने आरक्षका प्रमुख संरक्षण अधिकृत कंडेलले बताए ।
ढोरपाटनमा गत आर्थिक वर्ष २०७८÷०७९ देखि नाउर र झारलको शिकार गरेपनि बोनसको रुपमा बँदेलको शिकार गर्न रोक लगाएर छुट्टै अनुमति लिनुपर्ने व्यवस्था गरिएको प्रमुख संरक्षण अधिकृत कंडेलले बताए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट यस वर्षको दोस्रो सिजन (फागुन–बैशाख)मा १२, नाउर, नौं झारल र ११ बँदेलको अन्तराष्ट्रिय बोलपत्र आव्हान गरिएपनि बँदेलको शिकारको लागि शिकारीले इच्छा नदेखाएको प्रमुख संरक्षक अधिकृत कंडेलले बताए । उनले यस वर्षको अघिल्लो सिजन (असोज–कार्तिक)मा २ जना नेपालीले बोलपत्र स्वीकृत भएपनि शिकार गर्न नआएको बताए । । ‘अघिल्लो सिजन बोलपत्र स्वीकृत भएपनि बँदेल शिकारको लागि शिकारी आएनन्,’ संरक्षण अधिकृत कंडेलले भने,‘यस वर्ष अहिलेसम्म बोलपत्र स्वीकृत भएको छैन । सायद शिकारीहरु यस सिजन पनि नआउने निश्चित देखिन्छ ।’
पहिले नाउर र झारलको शिकार गरेवपात बोनसका रुपमा रतुवा र बँदेल एक/एक वटा शिकार गर्न दिइने गरेपनि अहिले त्यसको व्यवस्था नभएको हिमालयन आउट फिटर्सका संचालक अतुल खड्काले बताए । उनले अहिले बँदेलको शिकारको लागि पनि बोलपत्र मार्फत स्वीकृत हुनुपर्ने भएकाले शिकारीहरुले इच्छा देखाएका छैनन् । ‘पहिले नाउर र झारलको शिकार गरेवापत बोनसका रुपमा रतुवा र बँदेलको शिकार गर्न पाइन्थ्यो,’ संचालक खड्काले भने,‘अहिले छुट्टै प्रक्रियामा जानुपर्ने भएकाले कम्पनी मार्फत आएका विदेशी शिकारीले शिकार गर्न चासो देखाएका छैनन् ।’
संचालक खड्काले नेपालीहरुको लागि शिकार गर्न विभागले सहज वातावरण गरिदिनुपर्ने बताए । उनले प्रक्रिया नबुझेर पनि नेपाली शिकारीहरु नआउने गरेको बताउँदै त्यसको लागि विभागले जानकारी दिनुपर्ने बताए । ‘बँदेलको शिकारको ब्लक आरक्षणका लागि एक हप्ताको १५ हजार रुपैयाँ तिर्नुपर्छ,’ संचालक खड्काले भने,‘एक हप्तामा बँदेलको शिकार गर्न गाह्रो हुन्छ । समय थप गर्दा रकम पनि बढ्दै जान्छ त्यसैले शिकारी नआएको हुन सक्छन् ।’
बँदेलको शिकारको लागि रातीको समय उत्तम रहेकोले पनि शिकारीहरुले इच्छा नदेखाएको हुन सक्ने प्रमुख संरक्षण अधिकृत कंडेलले बताए । ‘बँदेलको शिकारको लागि रातीको समय उत्तम हो,’ संरक्षण अधिकृत कंडेलले भने,‘बँदेल ग्रुपमा हिड्छ । त्यसमा पनि सवैभन्दा ठूलो बँदेललाई शिकार गर्नुपर्ने हुन्छ । रातीमा शिकार गर्नुपर्ने हुँदा शिकारीहरुले चासो नदेखाएको हुन सक्छन् ।’
ढोरपाटनमा बँदेलले खेतीमा क्षति पु¥याउँदै आएको स्थानीयहरुले बताएका छन् । ढोरपाटनका स्थानीय गंगा भण्डारीले ढोरपाटनबासीको मुख्य खेती आलु भएपनि बँदेलले क्षति पु¥याउँदै हरेक वर्ष घर व्यवहार चलाउन गाह्रो पर्दै आएको बताए । ‘हाम्रो मुख्य खेती आलु हो,’ स्थानीय भण्डारीले भने,‘मुख्य खेती बँदेलले क्षति पु¥याएपछि घर खर्च पु¥याउन गाह्रो भएको छ । शिकार आरक्षणले बँदेलको व्यवस्थापन गरेर आफुहरुको मर्का बुझिदिए हुन्थ्यो ।’ उनले पाँच वर्षदेखि शिकार नहुँदा ढोरपाटनमा बँदेलको संख्या बढेको बताए ।
ढोरपाटनमा यस वर्षको दोस्रो शिकार याम चलिरहेको छ । यस याममा १२ नाउर र नौं झारलको शिकार हुने प्रमुख संरक्षण अधिकृत कंडेलले बताए । उनले बिहिबारसम्म तीन वटा नाउरको शिकार भइसकेको बताए ।
