सहकारीद्वारा कृषि एम्बुलेन्स सञ्चालन

बागलुङ, ११ चैत । बागलुङको एक सहकारीले कृषि एम्बुलेन्स संचालनमा ल्याएको छ । काठेखोला गाउँपालिका-४ तंग्रामको बसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थाले एउटा गाडी खरिद गरि कृषि एम्बुलेन्सको रुपमा संचालनमा ल्याएको हो ।

उक्त गाडीलाई सहकारीका शेयर सदस्यले उत्पादन गरेका तरकारी र खसी बोकाहरु बजारीकरणमा प्रयोग गर्ने सहकारीका अध्यक्ष लिलाकुमारी पुनले बताइन् ।

हेफर इन्टरनेशनल नेपाल र सहकारीको संयुक्त लगानीमा कृषि एम्बुलेन्स खरिद गरिएको अध्यक्ष पुनले बताइन् । उनले हेफरको १२ लाख ५० हजार र सहकारीको १२ लाख ५० हजार गरी २५ लाख रुपैयाँमा सवारी खरिद गरिएको बताइन् । उक्त गाडीको मंगलबार काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले चलाएर उद्घाटन गरेका थिए । ‘अहिले खरिद गरि उद्घाटन गरेका छौं,’ अध्यक्ष पुनले भनिन,‘संचालक समिति र सल्लाहकारहरुको बैठक बसेर कहिलेबाट संचालनमा ल्याउने चाडै निर्णय गछौं ।’

एम्बुलेन्स मार्फत सहकारीका शेयर सदस्यले उत्पादन गरेका तरकारी र खसीबोकाहरु बजारी गरिने अध्यक्ष पुनले बताइन् । ‘सहकारीले शेयर सदस्यहरुले उत्पादन गरेका तरकारी र खसीबोकाहरु बजारीकरण गर्दै आएको छ,’ अध्यक्ष पुनले भनिन्,‘हामीले पहिले अन्य सवारीहरु मार्फत बजारमा खसीबोकाहरु पठाउँदै आएका थियौं । अब आफ्नै कृषि एम्बुलेन्स मार्फत पढाउँछौं ।’

सहकारीले बजारको माग बमोजिम खसीबोकाहरु दैनिक बागलुङ बजारमा पढाउँदै आएको अध्यक्ष पुनको भनाइ छ । उनले मासिक ६, ७ ओटा खसीबोकाहरु बागलुङ बजारमा पठाइरहेको बताइन् । सहकारीले शेयर सदस्यहरुले पालेका खसी बोकहरु जिदो खरिद गरी सहकारीलाई ५ रुपैयाँ राखेर २५ केजी माथिका खसी बोकालाई प्रति केजी ५ सय ५० र २५ केजी तलकालाई ५ सय ४० रुपैयाँमा विक्री गर्दै आएको छ ।

सहकारीमा ६ सय ११ जना शेयर सदस्य रहेको अध्यक्ष पुनले जानकारी दिइन् ।

यस्तै काठेखोला गाउँपालिका र सहकारीको ५० प्रतिशत अनुदान र हेफर इन्टरनेशनल नेपाल र विवाईसी बागलुङको प्राविधिक सहयोगमा कृषकहरुलाई ८ ओटा मिनिटेलर हलो वितरण गरेको छ । अध्यक्ष पुनले हेफरको २५ हजार र कृषकको २५ हजार रुपैयाँमा ८ जना कृषकलाई मिनिटेलर हलो हस्तान्तरण गरेको बताइन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here