काठेखोलाको १२ औं गाउँसभा सकियो

बागलुङ, ९ माघ । जिल्लाको काठेखोला गाउँपालिकाको १२ औं गाउँसभा आईतबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष राजु थापाले आईतबार १२ औं गाउँसभामा समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाले दीर्घरोगीहरुको लगत संकलन गरी उनीहरुलाई जीवन निर्बाहका लागि प्रति महिना ५ हजार रुपैयाँ भत्ता स्वरुप प्रदान गर्ने व्यवस्था गरिएको जानकारी दिए ।

थापाले गाउँपालिकाका नागरिकलाई प्राकृतिक प्रकोपको रुपमा रहेको चट्याङको प्रकोपबाट बचाउनका लागि प्रदेश सरकारसंगको सहकार्यमा चट्याङबाट हुने क्षति न्यूनिकरण गर्ने परियोजना सञ्चालन थालिएको बताए । अध्यक्ष थापाले गाउँपालिका भित्र सञ्चालन भैरहेको सवारी साधनको भाडा समायोजनका लागि छलफल सुरु गरिएको, काठेखोलाको गौरबको आयोजनाको रुपमा रहेको पाला,धम्जा, तंग्राम सडक, बिहुँ, अक्षेते र तंग्राम जोड्ने सडकको स्तरोन्नीको काम अगाडि बढेको बताए ।

अध्यक्ष थापाले यस आर्थिक वर्षमा ११ वटा विद्येयकहरु तयार गरिएको, ५८४ जना किशोरीहरुका लागि आत्मरक्षा तालिम प्रदान गरिएको, किसान सूचीकरणका लागि गणनाको तयारी गरिएको गाउँसभामा जानकारी गराए । उक्त गाउँसभाले आर्थिक वर्ष २०७९/०८० को संशोधित बजेट पारित गरेको छ ।

काठेखोला गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापा तिलकले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को संशोधित बजेट गाउँसभाले पारित गरेको हो । गत असारमा सम्पन्न गाउँसभामा संघीय सरकारबाट प्राप्त हुने ४८ करोड ४४ लाख ४५ हजार, प्रदेश सरकारबाट २ करोड ९१ लाख ७८ हजार, आन्तरिक स्रोतको ४० लाख, मालमोततर्फ ५ लाख र संचितकोषमा ३ करोड १० लाख गरी कुल ५४ करोड ९१ लाख २३ हजारको बजेट पारित गरेको थियो । अहिले राष्ट्रपति शैक्षिक सुधार र अर्थिङ लगायतको बजेट थपिएर आएकाले गाउँपालिकाको कुल बजेट ५७ करोड ८७ लाख ४० हजार दुई सय ४३ रुपैयाँ पुगेको गाउँपलिका उपाध्यक्ष थापाले बताए ।

गाउँपालिकाको चालु बजेट ३३ करोड ६५ लाख १७ हजार दुई सय ४३ र पूँजीगततर्फ २४ करोड २२ लाख २३ हजार रुपैयाँ रहेको छ । चालु बजेटको ४५.९५ प्रतिशत र पूँजीगततर्फ ६.७५ प्रतिशत मात्रै बजेट खर्च भएको छ । आर्थिक वर्षको पहिलो ६ महिनामा गाउँपालिकले आर्थिक विकासतर्फ १३.४३ प्रतिशत, सामाजिक विकासतर्फ ५.३३ प्रतिशत, पूर्वाधार विकासतर्फ ५.७२ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ६.८७ प्रतिशत र कार्यालय सञ्चालनमा १३.२६ प्रतिशत वित्तीय प्रगति भएको छ । गाउँपालिकाले ६ महिनाको अवधीमा कुल ४५ वटा शिर्षकबाट २९ लाख ९३ हजार एक सय २३ रुपैयाँ कर संकलन गरेको छ ।

गाउँपालिकाले आर्थिक विकासतर्फ कृषि तथा पशुमा २१.०९ प्रतिशत, उद्यम विकासको १५.५ प्रतिशत, सहकारीको १२.५ प्रतिशत वित्तीय प्रगति भएको छ । सामाजिक विकासतर्फको शिक्षा युवा तथा खेलकुदमा ५७.०९ प्रतिशत, स्वास्थ्यमा ४१.५ प्रतिशत, महिला बालबालिका ज्येष्ठ नागरिक ७४.४५ प्रतिशत वित्तीय प्रगती भएको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा काठेखोला गाउँपालिकामा कुल ३३९ योजनामध्ये जम्मा १५४ वटा योजना सम्झौता भएको छ । सम्झौता भएकामध्ये २१ वटा योजना मात्रै निर्माण सम्पन्न भएका छन् । प्रदेश तथा संघीय निर्वाचनका कारण योजना सम्झौता तथा कार्यान्वयनमा ढिलाई भएको गाउँपालिकाले जनाएको छ ।

१२ औं गाउँसभाले समपुरक कोषको एक करोड ४० लाख र संचित कोषको दुई करोड ५ लाख गरी कुल तीन करोड ४५ लाख बजेट विनीयोजन गरिएको छ । उक्त बजेटबाट २४ वटा योजना सम्बोधन गरिएको उपाध्यक्ष थापाले बताए । गाउँसभाले विभिन्न विद्येयकहरु पारित गरेको छ । गाउँसभामा सामाजिक विकास समिति संयोजक खडक थापाले गाउँ शिक्षा विद्येयक तथा स्वास्थ्य तथा सरसफाई विद्येयक, आर्थिक विकास समिति संयोजक लक्ष्मण पुनले कृषि विकास विद्येयक, सहकारी ऐन सभामा प्रस्तुत गरे ।

उपाध्यक्ष तेजबहादुर थापाले आर्थिक ऐन, राजस्व व्यवस्थापन ऐन, विपद व्यवस्थापन समिति संयोजक ज्ञामनाथ कँडेलले वन वाताबरण तथा विपद् व्यवस्थापन विद्येयक, पूर्वाधार विकास समिति संयोजक परमानन्द कँडेलले पूर्वाधार विकास विद्येयक, कार्यपालिका सदस्य सुन्तली विकले तथ्याङ्क तथा अभिलेख विद्येयक र कार्यपालिका सदस्य एवं गाउँपालिकाका प्रवक्ता टिका संगम विकले आर्थिक कार्यविधि तथा नियमित गर्न बनेको ऐन गाउँसभामा प्रस्तुत गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here