
बागलुङ, २४ पौष । गण्डकी प्रदेश सरकारका कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढा सागरले सहकारी उत्पादनसंग जोडिनुपर्ने बताका छन् ।
कालिका सहकारी संस्था लि. बागलुङको पाँचौं वार्षिक साधारण सभाको शनिबार बागलुङमा उद्घाटन गर्दै मन्त्री बुढाले नेपाली उत्पादनसंग जोडिन नसक्दा पर निर्भर हुँदै गएको बताए । ‘हामी हरेक कुरामा परनिर्भर हुँदै गएका छौं,’मन्त्री बुढाले भने,‘परनिर्भरताबाट आत्मनिर्भरतातर्फ फर्कनका लागि हामीले उत्पादन मूलक क्षेत्रमा लगानी बढाउनुपर्छ । यसमा सहकारी संस्थाहरुले लगानी गर्न जरुरी छ ।’
कतिपय सहकारीकर्मीको बदमासीका कारण समग्र सहकारी क्षेत्रको नै बदनाम हुने गरेको भन्दै राज्यको अर्थतन्त्रको मुख्य खम्बा रहेको सहकारी आम सेयर सदस्यप्रति जवाफदेही हुनुपर्ने बताए । ‘कतिपय सहकारीको बदमासीले गर्दा अन्य सहकारीको पनि बदनाम हुने गरेको छ,’उनी भन्छन्,‘अर्थतन्त्रको तीन खम्बामध्ये एक रहेको सहकारीले देशको आर्थिक विकासमा टेवा पुग्नेगरी लगानी बढाउनुपर्छ ।’ कार्यक्रममा संस्थाका संरक्षक कृष्णराज शर्मा, गण्डकी प्रदेश सभाका पूर्व सदस्य एवं सल्लाहकार इन्द्रलाल सापकोटा, सल्लाहकार प्रा.डा. रामप्रसाद उपाध्याय, सल्लाहकार श्रीप्रसाद शर्मा, सञ्चालक सदस्य हरिनारायण गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभाको अवसरमा विभीन्न विधामा उत्कृष्ट सेयर सदस्य तथा उनीहरुका छोराछोरीलाई सम्मानित गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष हिमाल शर्माको अध्यक्षता उपाध्यक्ष गिता शर्माको स्वागत र सचिव भूपाल चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो ।
साधारणसभाकै अवसरमा भएको अधिवेसनले पुनः हिमाल शर्माको अध्यक्षतामा एक सदस्य पछि थप गर्नेगरी ११ सदस्यीय सञ्चालक समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा गिता शर्मा, सचिवमा भूपाल चालिसे र कोषाध्यक्षमा रेशमलाल सापकोटा रहेका छन् । समितिको सदस्यहरुमा शालिकराम शर्मा, जीवननाथ शर्मा, सरस्वती शर्मा, दुर्गादेवी शर्मा, सुदीप कँडेल, श्यामप्रसाद शर्मा चयन भएका छन् ।
कुल ८७१ जना सेयर सदस्य रहेको सहकारीको सेयर पूँजी ५ करोड ३४ लाख ८४ हजार आठ सय ९७ रुपैयाँ रहेको छ । सहकारीले गत आर्थिक वर्षमा कुल ८४ करोड ९५ लाख ५७ हजार सात सय ३८ रुपैयाँको कारोबार गर्दै ७ लाख ७१ हजार पाँच सय ६४ रुपैयाँ ६० पैसा खुद मुनाफा गरेको छ ।