सिम्रिक कृषि सहकारीको अध्यक्षमा पुनः उपाध्याय निर्वाचित

बागलुङ, २३ पौष । सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्था लिमिटेड बागलुङको अध्यक्षमा पुनः चुडामणि उपाध्याय निर्वाचित हुनुभएको छ ।

सहकारीको शनिबार सम्पन्न आठौं बार्षिक साधारण सभाबाट उपाध्यायको अध्यक्षतामा सर्वसम्मत ११ सदस्य नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा रिता थापा, सचिवमा रमेश पौडेल र कोषाध्यक्षमा जगन्नाथ सापकोटा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

समितिको सदस्यहरुमा भूमिराज गैरे, भीम कुमारी शर्मा, विश्व गौतम, डिल्लीप्रसाद सापकोटा र सोविता आचार्य निर्वाचित भएका छन् । थप दुई जना सदस्य पछि मनोनित गरिने सचिव रमेश पौडेलले जानकारी दिनुभयो ।

सहकारीको उद्घाटन सत्रको उद्घाटन पछि बोल्दै जिल्ला कृषि सहकारी संघ बागलुङका अध्यक्ष नर बहादुर थापाले कृषक शेयर सदस्यहरुले उत्पादन गरेका बस्तुहरुलाई बजारीकरणको लागि सहकारीले मुख्य भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले सिम्रिक कृषि सहकारीले शेयर सदस्यलाई विऊ लगायतका सामाग्रीहरु सुपथ मुल्यमा विक्री गरिरहेको र आफै पनि उत्पादन गरिरहेको भन्दै प्रशंसा गर्नुभएको थियो ।

साधारणसभामा सहकारीका संस्थापक अध्यक्ष मणिभद्र शर्मा, बागलुङ नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष लक्ष्मण केसी (शनि), सहकारीका सल्लाहकारहरु डिल्लीराज गौतम, हरिकृष्ण सुवेदी र डिल बहादुर कार्की, शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका सचिव होमनाथ गौतम र शेयर सदस्य टिकाराम उपाध्यायले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सहकारीले गत आर्थिक वर्ष २०७८/०७९ मा ९ करोड ८ लाख हजार २ सय ६१ रुपैयाँको कारोबार गरेको कोषाध्यक्ष जगन्नाथ सापकोटाले बताउनुभयो । उहाँले गत आवमा सहकारको कुल आम्दानी ४६ लाख १०हजार ४१९ रुपैयाँ र खर्च ३९ लाख ८० हजार १४१ रुपैयाँ भएको बताउनुभयो । कोषाध्यक्ष सापकोटलो संस्थाले गत आवमा सहकारीले ६ लाख ३० हजार २७८ रुपैयाँ मुनाफा कमाउन सफल भएको बताउनुभयो । साधारणसभाले कोषाध्यक्ष सापकोटले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, सचिव रमेश पौडेलले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र लेखा समिति सदस्य सोविता केसीले प्रस्तुत गरेको लेखा प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

साधारणसभामा यस वर्षको कृषि पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’लाई प्रदान गरिएको छ । सहकारीले प्रत्येक वर्ष जिल्लामा कृषि समाचार लेख्न एक जना पत्रकारलाई नगद १ हजार ५ सय रुपैयाँ सहित कृषि पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ ।

सहकारीका अध्यक्ष चुडामणि उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको उद्घाटनसत्रको स्वागत सदस्य भूमिराज गैरे र संचालन सचिव रमेश पौडेलले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here