ठेकेदारले काम छाडेपछि पालिकास्तरीय अस्पताल भवन अलपत्र

ठाकुरप्रसाद आचार्य
म्याग्दी, २८ मंसिर । ठेकेदारले काम छाडेपछि पालिका स्तरीय निर्माणाधीन ताकम अस्पताल भवन अलपत्र परेको छ । धवलागिरि गाउँपालिका स्तरीय ५ शैयाको अस्पताल भवनको ठेक्का लिएको निर्माण कम्पनीले बीचमै काम छाडेपछि भवन निर्माण अलपत्र परेको हो ।

पटक पटक ताकेता गर्दा पनि ठेकेदारले बेवास्ता गरेको धवलागिरि गाउँपालिकाले जनाएको छ । ठेकेदार सात महिनादेखि बेपत्ता भएका छन् । सङ्घीय सरकारको एक गाउँपालिका एक अस्पताल योजना अनुसार गाउँपालिकाले वडा नम्बर ७ ताकममा २०७७ पुसमा पालिकास्तरीय अस्पताल भवन निर्माण थालेको थियो ।

अस्पताल भवन निर्माणका लागि पालिकाले दुईवर्ष अघि विएम आइएस एसी जेभी बुर्तीबाङ बागलुङसँग चार करोड ८८ लाख ७२ हजार एकसय ३२ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता पछि पेश्की रकम बुझेर केही महिना काम गरेको ठेकेदारले विभिन्न बहाना बनाएर काम छाडेको पालिकाले जनाएको छ ।

गत जेठ २५ गते सम्झौता अवधि सकिएको र पछिल्लो खरिद ऐनको १२ औं संशाेधनले एक वर्ष पुनः म्याद थपिँदा आगमी जेठ २५ सम्म भवन निर्माण सकिसक्नुपर्ने पालिकाका सब इन्जिनियर लोकेन्द्र रावलले बताउनुभयो । ‘‘थपिएको म्याद सकिन ६ महिना बाँकी छ ठेकेदार अझै काममा फर्किएको छैन । थपिएको समयलाई पनि ठेकेदारले सदुपयोग नगर्दा भवन अलपत्र परेको छ,’’रावलले भन्नुभयो । भवनको अहिलेसम्म करिब २० प्रतिशत भौतिक प्रगति भएको छ ।

ठेकेदारले नटेरेको कारण भवन निर्माणको काम अलपत्र परेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले भन्नुभयो । ‘‘हामीले फोनमार्फत ठेकेदारलाई पटक पटक ताकेता गरेका छौं । आउँछु भन्दै भाका मात्र राख्ने काम गरेको छ । भुइँ ढलानसहित डिपिसी गरेर पिल्लर उठाएर छाडिएको छ । पालिकाले फोनमार्फत ताकेता गरे पनि ठेकेदार आउने नआउने टुङ्गो छैन,’’ रिजालले भन्नुभयो ।

अस्पतालमा आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउने योजनामा उल्लेख छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here