
बागलुङ, २ कार्तिक । कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले एक महिनामा परेवा विक्री गरेर ६ लाख रुपैयाँ बढी रकम आम्दानी गरेको छ ।
समितिले मंगलबार कालिका भगवती मन्दिरमा चढाइएका भेटी तथा गरगहना सार्वजनिक गर्दै असोज महिनामा परेवा विक्रीबाट ६ लाख ९९ हजार ८ सय रुपैयाँ आम्दानी गरेको जनाएको हो । गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले भक्तजनहरुले मन्दिरमै खरिद गरेर परेवाहरु उठाउँदा सो रकम संकलन भएको बताउनुभयो ।
मन्दिरमा भक्तजनहरुले भाकलको रुपमा परेवा उढाउने गर्दछन् । कालिका मन्दिरमा पहिले परेवाको बलि दिइने गरेपनि केहि वर्षदेखि परेवाको बलि दिन रोक लगाइएको छ । भक्तजनहरुले बाहिरबाट ल्याएर उढाएका परेवाहरुको धेरैजसो मृत्यु भएको अध्यक्ष खड्काले बताउनुभयो । ‘बाहिरबाट ल्याएर उढाएका परेवाहरुको धेरै समय बाँचेको देखिएन,’ अध्यक्ष खड्काले भन्नुभयो–‘यहीको परेवाहरुलाई केहि नहुने तर, बाहिरबाट ल्याएको परेवाहरु झोक्याउने, चाडो मृत्यु हुने गरेको देखियो । हावापानीको कारण पनि होला ।’ उहाँले मन्दिरमा उठाउनको लागि १ जोडी परेवाको चार सय रुपैयाँको दरले विक्री गरिने गरेको बताउनुभयो ।
मन्दिरमा गत असोज महिनामा मन्दिरमा ३५ लाख ३७ हजार ८ सय ४९ रुपैयाँ आम्दानी भएको छ । अध्यक्ष खड्काले भेटी संकलनबाट १९ लाख २ हजार ८ सय ९५ रुपैयाँ, भाडाबाट ३ लाख ८२ हजार ४ सय ८४ रुपैयाँ, बोकाबाट २ लाख १३ हजार २ सय १५ रुपैयाँ, आर्थिक सहयोगबाट १ लाख ७६ हजार ५ सय ५५ रुपैयाँ, चामल विक्रीबाट ८५ हजार, कुखुराबाट १७ हजार ७ सय, विवाहबाट १३ हजार ५ सय र पण्डितहरुबाट १२ हजार ८ सय रुपैयाँ आम्दानी भएको बताउनुभयो । उहाँले मन्दिर परिसरमा निर्माण गरिएको पुजा गर्ने स्टल निर्माण, हवन कुण्ड निर्माण, स्तनपान स्टल निर्माण, कर्मचारीको तलब, सांस्कृतिक कार्यक्रम तथा भजन, आर्थिक सहयोगहरुमा गरि १९ लाख ४० हजार ६ सय ६० रुपैयाँ खर्च भएको बताउनुभयो ।
अध्यक्ष खड्काले एक महिनाबाट १५ लाख ९७ हजार १ सय ८९ रुपैयाँ बचत गरिएको बताउनुभयो । उहाँले मन्दिरको आम्दानी खर्च पारदर्शीता राख्ने उद्देश्यले हिसाव सार्वजनिक गरिएको बताउनुभयो ।
समितिले भदौ ११ गतेदेखि असोज २७ गतेसम्म मन्दिरमा चढाएको गरगहनाको समेत सार्वजनिक गरेको छ । गुठीले ९ प्रकारका गहना सार्वजनिक गरेको हो । तीमध्य १ थान चाँदीको औठी, १ थान चाँदीको सिक्का, १ थान चाँदीको घोडा, २ थान चाँदीको पाउजु, २ थान सुनको टिका, १ थान सुनको मुन्द्रा, १ थान सुनको तिलहरी, १ थान सुनको टुक्रा र १ थान चाँदीको ताज मन्दिरमा चढाइएको छ । गुठीका अध्यक्ष कुमार खड्काले मन्दिरप्रति जनताको विश्वास बढाउने र पारदर्शी बन्ने लक्ष्यले आर्थिक सहित जिन्सीहरु समेत सार्वजनिक गरेको बताउनुभयो ।
विक्रम संवत् २०७७ सालअघि मन्दिरमा चढेका गहना जिल्लास्थित मालपोत कार्यालयमा बुझाउने नियम छ । गुठी व्यवस्थापन समितिमा खड्का नेतृत्वको समिति आएपछि गत भदौ महिनामा मन्दिरमा चढाइएको गरगहनाहरु सार्वजनिक गरिएको थियो । खड्का नेतृत्वको समिति आउनुपूर्व मन्दिरमा चढेको सुनचाँदी मालपोत कार्यालयमा बुझाउने चलन थियो । नयाँ समितिले बैंकको लकर भाडामा लिएर आफँै व्यवस्थापन गर्न थालेको हो ।
अध्यक्ष खड्काले सरोकावालाको समन्वय र छलफलपछि मन्दिरमा भेटिको रुपमा चढाइएका गहनाहरु बैंकको लकरमा राख्ने निर्णय गरिएको बताउनुभयो । ‘हामी आउनु अगाडी मन्दिरमा चढाइएका गहनाहरु मालपोत कार्यालयमा बुझाउने प्रचलन रहेछ,’ अध्यक्ष खड्काले भन्नुभयो–‘हामी आएपछि प्रभु बैैंकमा लकरको व्यवस्था गरेर गहनाहरु राख्ने चलन सुरु गरेका हौं ।’ उहाँले चेटिको रुपमा चढाइएका गहनाका टुक्राहरुलाई जिल्ला सुनचाँदी व्यवसायी संघमा नापजाँच गरि एउटै टुक्रा बनाएर राखिने बताउनुभयो ।
कालिकाको पूजा गर्न आउने भक्तजनले फूल प्रसादबाहेक गहना समेत चढाउने गर्छन् । मन्दिरमा चढाइने भेटी रकम हरेक दिन र मासिक सार्वजनिक गर्ने चलन रहेको गुठी व्यवस्थापन समितिका कार्यालय प्रमुख तारा शर्माले बताउनुभयो ।