बागलुङ, १८ साउन । जिल्ला हुलाक कार्यालय बागलुङले गत आर्थिक वर्ष २०७८/०७९ मा ३४ लाख बढी राजश्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा कार्यालयले टिकट विक्री, हुलाक महशुल, पत्रिका नविकरण, रेडियो नविकरण, रेडियो रोयल्टी, केबल नविकरण र रोयल्टी तथा सटर भाडा गरि ३४ लाख ८९ हजार ७ सय ५१ रुपैयाँ राजश्व संकलन गरेको कार्यालय प्रमुख विष्णु प्रसाद शर्माले बताउनुभयो ।
कार्यालयले टिकट विक्रीबाट १३ लाख ९७ हजार ८ सय रुपैयाँ, काउन्टर अटोमेसनबाट लाख ९४ हजार ३ सय ८८ रुपैयाँ, भन्सार महशुलबाट ८२ हजार ७ सय ३७ रुपैयाँ, बैदेशिक पार्सलको आयकर ३ सय रुपैयाँ, हुलाक महशुल १ सय ७० रुपैयाँ, पत्रिका नविकरण १ हजार २ सय ५० रुपैयाँ, रेडियो नविकरण १ लाख १६ हजार ५ सय रुपैयाँ, रेडियो रोयल्टीबाट ९० हजार ९ सय ३५ रुपैयाँ राजश्व संकलन भएको कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो । यस्तै केबल नविकरणबाट ७ हजार २ सय ५० रुपैयाँ, केबल रोयल्टीबाट ३ लाख ५१ हजार ६ सय ५ रुपैयाँ, सटर भाडाबाट ११ लाख ४६ हजार ८ सय १६ रुपैयाँ राजश्व संकलन भएको शर्माले बताउनुभयो ।
कार्यालयमा गत आर्थिक वर्ष २०७८÷०७९ मा ९ वटा पत्रपत्रिका र ४ वटा केवलले नविकरण गरेका थिए । कार्यालय प्रमुख शर्माका अनुसार जिल्लामा टिकट विक्री बढ्दै गएको बताउनुभयो ।
यस्तै कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी नभएको बताईएको छ । जिल्ला कार्यालय र १३ वटा इलाका कार्यालयमा एक सय जना दरबन्दी रहेकोमा ५९ जना कार्यरत रहेको र ४१ जनाको दरबन्दी रिक्त रहेको छ । १५ जना खरिदारको दरबन्दी रहेकोमा २ जना मात्रै कार्यरत रहेका छन्भने १३ जनाको दरबन्दी रिक्त रहेको छ । कार्यालयमा १ जना सहलेखापालको दरबन्दी रहेकोमा उक्त दरबन्दी रिक्त रहेकोछ । यस्तै ५३ जना हल्काराको दरबन्दी रहेकोमा २७ जनाको पद रिक्त रहेको कार्यालयले जनाएको छ ।
जिल्लाका १३ ओटै इलाका कार्यालयको प्रमुख खरिदार रहनुपर्नेमा सवै कार्यालयमा कार्यालय प्रमुखहरु रिक्त रहेको जिल्ला हुलाक कार्यालयका प्रमुख शर्माले बताउनुभयो । उहाँले इलाका कार्यालयहरु हल्काराहरुले संचालन गरिरहेको बताउनुभयो । ‘इलाका कार्यालयमा प्रमुख खरिदार रहने व्यवस्था छ’, कार्यालय प्रमुख शर्माले भन्नुभयो–‘खरिदारको पद रिक्त रहेकोले अहिले कार्यालय प्रमुखहरु हुनुहूँदैन् । कार्यालय संचालनको काम हल्काराहरुले गर्दै आउनुभएको छ ।’ शर्माले रिक्त रहेका पदको पदपुर्तीका लागी लोक सेवा आयोगसंग माग गरिएको बताउनुभयो ।