काठमाडौं, १२ साउन । एक लाख भन्दा बढी कोरोना पीडितले दुई वर्ष नाघिसक्दा पनि कोरोना बीमाबापतको भुक्तानी पाएका छैनन् ।
बीमा कम्पनीहरुले सरकारले रकम निकासा नगर्दासम्म भुक्तानी नगर्ने अडान लिएपछि कोरोना पीडितले भुक्तानी नपाएका हुन् । कोरोना पिडितको झण्डै साढे ११ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी छ ।
बीमा कम्पनीहरुले आफ्नो दायित्वमा पर्ने रकम भुक्तानी गरिसकेको भन्दै बाँकी भुक्तानी गर्न नसक्ने बताएका छन् । सरकारले रकम निकासा गरेपछि मात्रै भुक्तानी दिने नेपाल बीमक संघका महासचिव अशोककुमार खड्काले बताउनुहुन्छ ।
बीमा समितिले पनि कोरोना बापतको भुक्तानीका लागि पटक-पटक ताकेता गर्दै आएको छ । पटक-पटक ताकेता गर्दा पनि रकम निकासा नभएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताउनुभयो । कोरोना बीमा मापदण्ड अनुसार तत्काल रकम निकासा गर्न कार्यकारी निर्देशक पौडेलले माग गर्नुभयो ।
यता अर्थमन्त्रालयले भने कोरोना बीमा बापतको रकम निकासा गर्न सकेको छैन । यस विषयमा अर्थमन्त्रालयका अधिकारीहरु कुरा गर्न सम्म चाँहदैनन् । अर्थमन्त्रालयको मौनताले निकासा हुनुपर्ने झण्डै साढे १२ अर्ब कहिलेसम्म निकासा हुन्छ भन्ने टुंगो छैन ।
कोरोनाकाल सुरु भएपछि बीमा समितिको निर्देशनमा बीमा कम्पनीहरुले साढे १७ लाख बीमा लेख जारी गरेका थिए । जसमा डेढ लाखभन्दा बढीले भुक्तानीका लागि दाबी गरेका थिए । हालसम्म बीमा कम्पनी र पुल मार्फत करिब ५ अर्ब रुपैयाँ भुक्तानी भईसकेको छ ।