कृषि, पर्यटन र शिक्षामा बागलुङ नगरको प्राथमिकता

बागलुङ, ९ असार । बागलुङको बागलुङ नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि, पर्यटन र शिक्षालाई प्राथमिकतामा राखेको छ । नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले बिहिबार ११ औं नगरसभामा आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।

नगरप्रमुख श्रेष्ठले कृषि सामग्री र कृषकका उत्पादन ढुवानीलाई सहज बनाउन नगर कृषि गाडी संचालनमा ल्याउने बताउनुभयो । उहाँले कृषि व्यवसायलाई प्रबर्धन गर्न नगरपालिकाले ५० प्रतिशत अनुदान एवं कृषि समुह र सहकारीको ५० प्रतिशत लागत साझेदारीमा किसानले प्रयोग गर्ने मल, विउँ लगायतका कृषि सामाग्री र कृकका उत्पादन ढुवानीलाई सहज बनाउनको लागि बागलुङ नगर कृषि गाडी संचालनमा ल्याईने बतायनुभयो । आधुनिक कृषि बजार स्थापना गर्ने र बानपा–३ मा रहेको कृषि हाट बजारको व्यवस्थापन गरी संचालन गरिने नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।

नगरपालिकाले कृषि उत्पादनको अधिक सम्भावना रहेको वडा नम्बर ३ देखि १४ मा प्रति वडा २÷२ जनाका दरले अगुवा कृषक छनौट गरी उनीहरुलाई कृषि ज्ञान, सीप, प्रविधिमा दक्ष बनाईने नगर कृषक अभियन्ताको रुपमा परिचालन गरिने बताइएको छ । नगरपालिकाले ताजा तथा बेमौसमी खेती, मसला बाली, रैथाने बालीलाई प्रोत्साहन गर्ने, कृषकहरुलाई परियोजना धितोमा बैंक तथा बित्तीय संस्थासँग समन्वय गरी सहुलियतपूर्ण कृषिकर्जा उपलब्ध गराउन पहल गर्ने जनाएको छ ।
यस्तै दुध, अण्डा, मासु र तरकारी आत्मनिर्भर बागलुङ नगरी बनाउने, कृषक र उपक्ताहरु विच मिलन गराउन बागलुङ कृषि मेला आयोजना गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरको फोहोर बैज्ञानिक व्यवस्थापनको लागि सहकारी संस्थाहरुलाई मुख्य भूमिका सहित साझेदारी गराउने नीति तथा कार्यक्रममा नगरप्रमुख श्रेष्ठले उल्लेख गर्नुभएको छ । नगरपालिकाले बलेवा क्षेत्रमा अस्थायी डम्पीङ साईटको व्यवस्था गर्ने जनाएको छ । यस्तै एक सहकारी एक उत्पादन कार्यक्रमलाई प्रोत्साहन गर्ने, अन्तरपालिका समन्वयमा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका मुख्य मुख्य धार्मिक एवं पर्यटकीय क्षेत्रहरुलाई जोड्ने गरी बृहत कृष्णगण्डकी सभ्यता पर्यटन विकास गुरुयोजना तयार गर्न पहल गर्ने, नगरपालिकालाई धार्मिक पर्यटन र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि बागलुङ पर्यटन विकास समिति गठन गर्ने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

यस्तै नगरका सवै पर्यटकीय गन्तव्यहरुलाई निश्चित आधारमा पर्यटन गन्तव्य नम्बर प्रदान गरी व्यापक प्रचारप्रसार गर्ने जनाइएको छ । नगरपालिकाले स्थानीयस्तरमा परम्परागत प्रविधिबाट उत्पादन गरिदै आएको मदिरालाई स्वास्थ्य मापदण्ड पुरा गरी गुणस्तरीय उत्पादन, ब्राण्डिङ्ग र बजारीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नगरपालिकाले बलेवा विमानस्थललाई संचालनमा ल्याइने र बजारबाट विमानस्थल पुग्ने सडक कालोपत्रे गर्ने जनाएको छ । यस्तै बलेवा विमानस्थल र पैयुपाटाको पहरे क्षेत्रलाई साहसिक उडान क्षेत्रकोरुपमा प्रयोग र्ग पहल गर्ने प्रमुख श्रेष्ठले बताउनुभयो ।

नगरपालिकाले उद्यम तर्फ बानपा–९ तित्याङमा रहेको तामाखानी लगायत अन्य महत्वपूर्ण खानी संचालनका लागि सम्बन्धीत निकायसँग समन्वय र सहकार्य गर्ने र नगरक्षेत्रभित्र ठूलो उद्योग, कलकारखाना, पर्यटन, कृषि उद्योग तथा ठूला पूर्वाधार निर्माण लगायतका नगरको समृद्धि र विकासका लागि लगानी जुटाउन बागलुङ लगानी सम्मेलनको आयोजना गर्ने जनाएको छ । नगरप्रमुख युवा उद्यमशिलता विकास कार्यक्रम संचालन गर्ने, आफु जन्मेको माटो र आफु हिडेको बाटोलाई माया गरी मातृभूमि फर्कि आफ्नै ठाउँथलोमा उद्यम गर्न चाहने व्यक्तिहरुलाई उद्यमशिलता विकास कोषबाट आवश्यक सहयोग गर्ने, नगरक्षेत्रभित्र रहेका श्रमिकहरुको सीप, अनुभव र व्यक्तिगत विवरण समेतको अभिलेख रहने गरीनगरपालिकामा श्रम बैंकको स्थापना गर्ने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

नगरपालिकाले नगरप्रमुख श्रेष्ठको पहिलो निर्णय अनुसार बालमैत्री नगरपालिका बनाउन सवै विद्यालयहरुमा श्रमशः बालमैत्री (सिंगल) डेस्क बेञ्च व्यवस्थापन गर्ने जनाएको छ । नगरक्षेत्रको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सामुदायिक र संस्थागत विद्यालयहरुको असल अभ्यास आदानप्रसान गर्ने व्यवस्था मिलाइने र गर्भवती महिला शिक्षक विदामा रहँदा सट्टा शिक्षकको रुपमा काम गर्न रोष्टर शिक्षक परिचालन गर्ने जनाएको छ ।

नगरपालिकाले मेयरकप फुटबल प्रतियोगितालाई निरन्तरता दिँदै खुल्ला नगरस्तरीय बृहत बागलुङ कालिका कपको आयोजना गर्ने जनाएको छ ।

नगरपालिकाले धौलागिरी अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्तरोन्नती र हरि खड्का ड्रमा सेन्टर स्थापनाका लागि पहल गर्ने, प्रत्येक ३/३ महिनामा ६८ वर्ष उमेर नाघेका जेष्ठ नागरिकहरुको घरघरमा ग्ई दीर्घरोग सम्बन्धी स्वास्थ्य परीक्षण गर्ने, विपन्न नागरिक, अपाङ्गता भएका व्यक्तिहरुको आपतकालिन स्वास्थ्य उपचारमा सहयोग गर्न नगरप्रमुख विपन्न नागरिक स्वास्थ्य सहायता कोषको स्थापना गर्ने नगरप्रमुख श्रेष्ठले कार्यक्रममा उल्लेख गर्नुभएको छ ।

नगरपालिकाको कार्यालय व्यवस्थापनका लागि व्यवस्थित एवं सुविधा सम्पन्न कार्यालयको व्यवस्था गर्ने, एक वडा एक नमुना पूर्वाधार विकास कार्यक्रम संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here