गुहेली सञ्चार सहकारीको नवनिर्मित भवनको उद्घाटन

तिल कुमारी केसी
बागलुङ, २१ चैत । गुहेली सञ्चार सहकारी संस्था लिमिटेड काठेखोला गाउँपालिका–२ भीमापोखराको नवनिर्मित भवनको सोमबार उद्घाटन गरिएको छ ।

सहकारीले दैनिक कारोबार गर्नको लागि र कृषि संकलन तथा विक्री गर्नको लागि भवनको उपयोग गर्ने संस्थाका अध्यक्ष खिम बहादुर कार्कीले जानकारी दिनुभयो ।

सहकारी भवनको उद्घाटन पछि बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले सबै नागरिक उत्पादनमा जोडिनुपर्ने बताउनुभयो । उहाँले सहकारीले संस्थापना गरेको भवनबाट कृषि संकलन तथा विक्री गर्ने भएकाले शेयर सदस्यहरु तथा स्थानीयहरुले भवनको उपभोग गर्न सक्ने बताउनुभयो । ‘शेयर सदस्य तथा स्थानीयहरुले उत्पादन गरेको कृषिजन्य तरकारीहरु संकलन केन्द्र मार्फत विक्री गर्ने सहकारीले जनाएको छ,’ अध्यक्ष थापाले भन्नुभयो–‘कृषि उत्पादनहरु विक्री हुँदैनन् भनेर उत्पादन नै नगर्ने गर्नु हुँदैन । अब सवै उत्पादनमा जोडिनुपर्छ र उत्पादन गरेका तरकारी तथा अन्य खाद्यन्नहरु बजारीकरणको लागि सहकारीको संकलन केन्द्रले सहजिकरण गर्नेछ ।’

अध्यक्ष थापाले आफुले उत्पादन नगर्ने तथा अरुले नाफा खायो भन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभयो । ‘अरुको आरिष नगरि सवै पौरखी बन्नुपर्छ, अध्यक्ष थापाले भन्नुभयो–‘अरुले नाफा खायो भनेर नबसी अब आफैले कृषि उत्पादनमा जोड दिई आफुले नाफा खाने तर्फ अगाडी बढ्नुपर्छ ।’ गाउँपालिका अध्यक्ष थापाले सहकारी सवै शेयर सदस्यहरुको भएकोले सहकारीको सम्पत्तिको रक्षा सवैले गर्नुपर्ने र उपभोग पनि गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराका वडा अध्यक्ष विद्यापति शर्मा, काठेखोला गाउँ कार्यपालिका सदस्य टिकासंगम विक, संस्थाका सल्लाहकार हरिनारायण गौतम, जिल्ला सहकारी संघ बागलुङका निर्वतमान अध्यक्ष दिपक गौतम र विवाईसी बागलुङका अध्यक्ष मणिभद्र शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सहकारीले २५ लाख १७ हजार १ सय ७१ रुपैयाँ लागतमा भवनको निर्माण गरेको हो । भवन निर्माण गर्नको लागि काठेखोला गाउँपालिकाबाट ४ लाख, कृषि ज्ञान केन्द्र बागलुङबाट १ लाख ७५ हजार, काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराको वडा कार्यालयबाट १ लाख र अन्य शेयर सदस्य तथा शुभेच्छुकहरुबाट गरी ९ लाख ४५ हजार ५ सय १५ रुपैयाँ आर्थिक सहयोग संकलन गरेको संस्थाका प्रबन्धक प्रसाद थापाले बताउनुभयो । उहाँले भवन निर्माणमा १५ लाख ७१ हजार ६ सय ५६ रुपैयाँ अपुग भएको बताउनुभयो ।

संस्थाका अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत उपाध्यक्ष टिकाराम उपाध्याय र संचालन सचिव सुर्य बहादुर थापाले गर्नुभएको थियो ।

संस्थाले भवनबाट दैनिक कारोबार गर्ने र कृषि संकलन तथा विक्री गर्ने बताएको छ । मुख्य कार्यालय भीमापोखरामा रहेको संस्थाले बागलुङ बजारमा सेवा केन्द्र स्थापना गरि दैनिक कारोबार गर्दै आएको छ । सहकारीले आफ्नो उद्देश्य अनुसार जननिगरानी साप्ताहिक पत्रिका र खबरवेडटकम अनलाईन संचालन गर्दै आएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here