बागलुङ, १७ चैत । बागलुङ उद्योग बाणिज्य संघ नेतृत्वले विधान विपरित गतिविधि गरेको भन्दै व्यवसायीहरुले विरोध जनाएका छन् । संघको विधान अनुसार तीन/तीन वर्षमा अधिवेशन सम्पन्न हुनुपर्नेमा अधिवेशन नै नगरी विधान विपरित गतिविधि गरेको भन्दै व्यवसायीहरुले विरोध जनाउँदै जिल्ला प्रशासन कार्यालय बागलुङको ध्यानाकर्षण गराएका हुन् ।
जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै व्यवसायीहरुले संघको विधानअनुसार हरेक तीन/तीन वर्षमा अधिवेशन सम्पन्न गर्नुपर्नेमा त्यसो नगरेकाले प्रशासनको ध्यानाकर्षण गराएका जनाएका छन् । जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको संघले पटक पटक नियम विपरित गतिविधि गरिरहेकाले बाध्य भएर ध्यानाकर्षण गराउँनु परेको व्यवसायी चन्द्र शर्माले बताउनुभयो ।
संघको विधानमा हरेक तीन वर्षमा अधिवेशन गर्नुपर्ने र आवश्यक परे कार्यसमितिले बढीमा तीन महिनासम्म म्याद थप गर्न सक्ने व्यवस्था भएकोमा त्यस विपरित काम गरेको शर्माले बताउनुभयो । २०७५ मंसिर २४ गते संघको ५५ औं वार्षिक साधारणसभा तथा सत्रौ अधिवेशन सम्पन्न भएको थियो । विधानमा व्यवस्था गरेअनुसार २०७८ मंसिर २४ गते तीन वर्षे कार्यकाल समाप्त भएको र कार्यसमितिले २०७८ फागुन २४ गतेसम्म मात्र म्याद थप गर्न सक्ने भएपनि कार्यसमितिले फेरी अधिवेशन नगरी साधारणसभा मात्र गर्न लागेकाले आफूहरुले ध्यानाकर्षण गराएको व्यवसायीहरुले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी गणेश प्रसाद पौडेलले बिहिबार निवेदन प्राप्त भएको र शुक्रबार त्यसको बारेमा छलफल हुने बताउनुभयो । उहाँले बिहिबार पाँच बजे निवेदन दर्ता भएकोले विधान र उजुरी कर्ताहरुको निवेदनको बारेमा शुक्रबार अध्ययन गरिने बताउनुभयो ।
‘प्रमुख जिल्ला अधिकारी ज्यू गल्कोट जानुभएको छ । उहाँ बिहिबार बेलुका नै बागलुङ बजार फर्किनुभएको छ,’ सूचना अधिकारी पौडेलले भन्नुभयो–‘पाँच बजे मात्र निवेदन दर्ता भएकोले शुक्रबार निवेदनको बारेमा अध्ययन हुन्छ, निवेदनकर्ताहरुलाई शुक्रबार प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्न आउन आग्रह गरेको छु ।’ सूचना अधिकारी पौडेलले निवेदनमा तीन वर्ष कार्यकाल सम्पन्न भएको र थप गर्न मिल्ने तीन महिना पनि सकिन लाग्दा अधिवेशन नबोलाई साधारणसभा मात्र गर्न लागिएकोले अधिवेशन कानुन एवं विधान सम्मत समयमा गराई संस्थालाई संचालनन गर्न आवश्यक प्रक्रियाहरु अगाडी बढाई दिन अनुरोध गरेको जानकारी दिनुभयो ।
यता उद्योग बाणिज्य संघ बागलुङका महासचिव नरेश कंडेलले बाधा अड्काउ फुकाउ अनुसार र कोरोनालई शुन्य समय मानेका कारण अहिले हिसाव किताव सार्वजनिक गर्ने गरी साधारणसभाको आयोजना गरिएको बताउनुभयो । उहाँले साधारणसभाबाट थप म्यान्डेट लिएर आगामी मंसिर २१ भित्र अधिवेशन गर्न तयारी रहेको जानकारी दिनुभयो ।
कंडेलले अहिले साधारणसभाबाट आएको म्यान्डेटनै अन्तिम हुने बताउनुभयो । संघले १९ चैतमा साधारणसभाको आव्हान गरेको छ ।