बसपार्क संचालनको तयारीमा बागलुङ नगरपालिका

बागलुङ, ९ फागुन । निर्माण सम्पन्न भएर प्रयोग बिहिन भएको आधुनिक बागलुङ बसपार्कको सञ्चालनका लागि बागलुङ नगरपालिकाले दीगो र प्रभावकारी उपाय खोज्न थालेको छ ।

बागलुङ नगरपालिका–४ उपल्लाचौरको दावगह्रामा निर्माण भएको आधुनिक बसपार्क सञ्चालनका नगरपालिकाले सरोकारवालासँग छलफल सुरुवात गरेको हो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय, उद्योग बाणिज्य संघ, जनप्रतिनिधि र यातायात व्यवसायी समेतको छलफलमा बसपार्क सञ्चालनका लागि आवश्यक राय मागिएको थियो । आधुनिक बसपार्क सञ्चालन हुँदा प्रयोग बिहिन हुने चिप्लेटि बसपार्कको उपयोग, बागलुङ बजारमा ट्राफिक व्यवस्थापन र साना तथा ठुला सवारी साधनको पार्क व्यवस्थापनका बिषयमा सरोकारवालाबीच छलफल भएको मेयर जनकराज पौडेलले बताउनुभयो । बसपार्कको सञ्चालन र नगभित्र सवारी व्यवस्थापनका लागि नगरपालिकाले कार्यबिधि तयार गर्ने भएको छ । कार्यबिधि तयार गर्नुपूर्व आवश्यक राय दिनका लागि ‘नगरको समग्र यातायात व्यवस्थापन सुझाव कार्यदल’ बनाईएको छ ।

बागलुङ नगरपालिकाका इञ्जिनियर मनोज शर्माको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, ट्राफिक प्रहरी प्रमुख, यातायात व्यवस्था कार्यालयका प्रमुख, दुई जना जनप्रतिनिधि, उद्योग बाणिज्य संघका अध्यक्ष, यातायात व्यवसायीका प्रतिनिधि, बस पार्कको जग्गा व्यवस्थापन समितिका प्रतिनिधि सहितको कार्यद लबनेको संयोजक मनोज शर्माले जानकारी दिनुभयो ।

कार्यदलले जतिसक्दो छिटो बसपार्क सञ्चालन र यातायत व्यवस्थापनका बिषयमा छलफल गरेर नगरको बिद्यायन समितिलाई सुझाव दिनेछ । सोही आधारमा बनेको कार्यबिधि कार्यान्वयनमा आउने नगरप्रमुख पौडेलको भनाई छ ।

नगर विकास कोषको ऋण सहयोगमा निर्माण भएको बसपार्कसम्म पुग्ने पहुँच मार्ग विस्तार र घडेरी व्यवस्थापनमा ढिलाइ हुँदा बसपार्क प्रयोगबिहिन छ । पहुँच मार्ग र जग्गाको व्यवस्थापनलाई समेत अघि बढाउन नगरले काम थालेको हो ।

कार्य बिधि तयार भएमा ठुला सवारी साधन आधुनिक बसपार्क र साना सवारी साधन चिप्लेटी बसपार्कमा व्यवस्थापन गर्ने नगरले जनाएको छ ।

७ करोड ६६ लाख ९९ हजार रुपैयाँको लागतमा बसपार्क तयार भएको हो । बसपार्क क्षेत्रमा टर्मिनल भवन, व्यापारिक भवन र भूमिगत ट्यांक्सी पार्किङ, ग्यारेज र फुलबारी निर्माणको भएका छन् । नगर विकास कोषले ९ करोड ४ लाख रुपैयाँ ऋण दिएपछि निर्माणको काम शुरु भएको थियो । बाँकी रकममध्ये नगरपालिकाको ७५ लाख र समपूरक कोषबाट २५ लाख खर्च भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here