भीमापोखराका आमा समूहलाई सामाग्री वितरण

बागलुङ, २५ माघ । जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराले आमाहरुको सशक्तिकरणका लागि विभिन्न सामाग्रीहरु वितरण गरेको छ ।

वडास्तरीय आमा समुह मार्फत गाउँघरमा विवाह, वर्तबन्ध लगायतका परम्परागत सामाजिक कामहरुका लागि आवश्यक पर्ने सामाग्री वितरण गरिएको हो ।

काठेखोला गाउँपालिकाको तीन लाख रुपैयाँ सहयोगमा आमा समुह मार्फत सामाग्री खरिद गरेर साविकका वडामा रहेका समुहलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष विद्यापति शर्माले बताए । पुलाउ रोख्ने भाँडा ४ थान, कुर्ची १२६ थान, टेवल ८ थान, कराई एक थान, ग्यास सेट दुई थान, थर्मस दुई थान र थाल, कचौरा, चम्चा गिलास लगायतका सामग्री वितरण गरेको शर्माले जानकारी दिए ।

आमा समुह सशक्तिकरण सामग्री वितरण उपभोक्ता समितिले मंगलबार एक समारोहको आयोजना गरेर ती सामाग्रीहरु टोलमा रहेका आमा समुहलाई हस्तान्तरण गरेको हो । ‘साविक वडामा रहेको समुहले माग गरेका सामाग्रीहरु आवश्यकता अनुसार उपलव्ध गराईएको हो’ उपभोक्ता समितिकी अध्यक्ष हुमाकुमारी गौतम (सविना)ले भनिन् ‘यी सामग्रीको उपयोग गरेर समुहले आयआर्जन समेत गर्न सक्छन् ।’

गाउँघरमा हुने हरेक क्रियाकलापमा आवश्यक सामाग्री महंगो भाडामा लिनुपर्ने बाध्यताको अन्त्यका लागि सामाग्री सहयोग गरेको वडाअध्यक्ष शर्माले बताए । कार्यक्रममा बोल्दै शर्माले स्थानीय सरकारले उपलव्ध गराएको सुविधाको उपभोग र सदुपयोग गर्न आग्रह गरे ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा प्रेस चौतारी इञ्चार्ज खिम बहादुर कार्की, एमाले काठेखोला गाउँ कमिटी सचिवालय सदस्य राम प्रसाद शर्मा, वडाका अध्यक्ष नारायणदत्त रेग्मी लगायतले बोलेका थिए ।

समुहकी अध्यक्ष गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत भविकला थापा र सञ्चालन सूर्यबहादुर थापाले गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here