म्याग्दी, ६ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले सुन्ताला विक्रीबाट यसवर्ष रू. ५० लाखभन्दा बढी रकम भित्र्याएका छन् ।
व्यावसायिक सुन्तला खेती गर्दै आएका दोसल्लेका किसानले उत्पादन गरेका सुन्तला विक्रीबाट यस वर्ष रू. ५० लाखभन्दा बढी रकम भित्र्याएका हुन् । पोखरा, चितवन र काठमाडौंबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो सरदर रू. ८० का दरले सुन्तला खरीद गरेका हुन् ।
दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजाले ६२ हजार ५०० किलो सुन्तला निकासी हुँदा रू. पचास लाख गाउँमा भित्रिएको जानकारी दिए ।
‘गतवर्ष रू. २५ लाख बराबरको सुन्तला विक्री भएको थियो’, उनले भने ‘नयाँ बिरुवा थपिएका, रोगकीराको समस्या कम र अनुकूल मौसमका कारण उत्पादन दोब्बरले बढ्यो ।’ विगतका वर्ष मंसिर महीनामै सुन्तला विक्री गरिसकेका हुन्थ्ये । यसपाली बढी मूल्य पार्नका लागि यहाँका किसानले पुसको अन्तिम सातादेखि सुन्तला टिपेर बजार पठाउन थालेका छन् ।
एक जना किसानले रू. तीस हजारदेखि रू. दुई लाख तीस हजारसम्मको सुन्तला विक्री गरेका समूहले जानकारी दिएको छ । व्यापारीसँग समन्वय गरेर सुन्तला बजार पठाउन समूहले समन्वय गरेको थियो ।
५७ घरधुरीको बसोबास रहेको दोसल्ले गाउँभरी सुन्तला खेती भएको छ । १५ हजार बोटमध्ये करीब आठ हजार बोटबाट उत्पादन हुन थालेको छ । परम्परागत कोदो, मकै र गहुँ खेतीको विकल्पमा सुन्तला खेती गरेको किसान खगप्रसाद पाइजाले बताए ।
वर्षमा तीन मुरी कोदो फल्ने बारीमा लगाएको सुन्तलाबाट रू. ५० हजार भन्दा बढी आम्दानी भएको उनले बताए । सडक यातायातको सुविधा भएपछि बाँझिएका पाखो बारीमा झाडी फाडेर सुन्तलाका बिरुवा रोप्ने अभियान चलाएका छन् ।
१० वर्षअघि स्थानीयवासी मिलन गर्बुर्जाको अगुवाइमा दोसल्लेलाई सुन्तला गाउँ बनाउने अभियान शुरु भएको थियो । भीरालो पाखोमा अवस्थित दोसल्लेको भूगोल सुन्तला खेतीका लागि अनुकूल रहेको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले बताए ।
दोसल्लेमा सुन्तला खेती विस्तारका लागि नयाँ बिरुवा वितरण, किसानलाई बगैँचा र कीरा व्यवस्थापनसम्बन्धी स्थलगत तालिममा सहयोग गरिएको उनले बताए ।
बेमौसममा सुन्तला विक्री गर्नका लागि दोसल्लेमा तत्कालीन कृषि विकास कार्यालयको सहयोगमा सुन्तला भण्डार गृहको भवनसमेत निर्माण भएको थियो ।
दोसल्लेका बासिन्दासमेत रहेकी अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले सिँचाइ सुविधा र थप जमिनमा सुन्तलाखेती विस्तारमा जोड दिएको बताए । रासस