घोडेपानी जोड्ने सडक कालोपत्र गरिँदै

म्याग्दी, १९ पौष । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक कालोपत्रको तयारी भएको छ ।

गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार, खिवाङ, शिख हुँदै घोडेपानी नजिकैको बस्ती चित्रे जोड्ने १८ किलोमिटर ५४० मिटर सडक स्तरोन्नति र कालोपत्र गर्न लागिएको हो । पोखरेबगरबाट घार, खिवाङ, शिख हुँदै घोप्टेखर्कसम्मको १४ किलोमिटर सडक विस्तार, नाली निर्माण र ग्राभेल सकेर १० किलोमिटर दूरीमा कालोपत्रका लागि सबबेस राखिएको आयोजनाका सबइञ्जीनियर दवलसिंह तामाङले जानकारी दिए । ‘पोखरेबगरबाट घोप्टेखर्कसम्मको ढलान र सोलिङ गर्ने अधिकांश काम सकिएको छ,’ उनले भने, ‘कालोपत्र गर्नुपर्ने ठाउँमा सबबेस राख्न र घोप्टेखर्कबाट चित्रेखण्डमा विस्तारको काम भइरहेको छ ।’

तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, म्याग्दीले पोखरेबगर–चित्रे सडक स्तरोन्नति गर्न विसं २०७५ मङ्सिरदेखि आयोजना शुरू गरेको थियो । प्राधिकरण खारेज भएपछि यो आयोजना संघीय सरकारको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखरालाई हस्तान्तरण भएको छ । कच्ची, साँघुरो र ग्रेड नमिलेको सडक फराकिलो बनाएर ग्राभेल, ढलान, ग्याबिन पर्खाल, मेसिनरी पर्खाल, नाली, ह्युम पाइप, कल्भर्ट, सोलिङ बनाउन र ३ दशमलव ७५ किलोमिटर कालोपत्र गर्न २०७५ मङ्सिर ९ गते २७ करोड ९१ लाख ३५ हजार २२० रुपैयाँमा मोतीदान–जयमाता जेभीसँग सम्झौता गरेको थियो । कम्पनीका प्रतिनिधि रामप्रसाद बञ्जाडेले आगामी वैशाख महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित उपकरणका साथ दैनिक १२० मजदुर परिचालन गरिएको बताए ।

‘शिख क्षेत्रमा सबबेस राख्ने काम भइरहेको छ, घारको धरमपानी, खिवाङ र मूलपानीमा कल्भर्ट निर्माण शुरू भएको छ,’ उनले भने, ‘तापक्रम अनुकूल भएपछि फागुनदेखि कालोपत्र शुरू गर्नुअघि नै विस्तार, नाली र पर्खाल निर्माणको काम सक्ने हिसाबले उपकरण र मजदुर परिचालन गरेका छौं ।’ २०७७ जेठमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना निर्माण व्यवसायीले पर्याप्त मजदूर र उपकरण परिचालन गर्न नसक्नु, आयोजना प्रमुख छिटो–छिटो परिवर्तन हुनु, घार खण्डमा सामाजिक समस्या, कोरोना महामारी, बन्दाबन्दी र निषेधाज्ञा, पहिराको समस्याले ढिलाइ भएको हो ।

काम शुरू भएदेखि आयोजनाका पाँच प्रमुख फेरिएका छन् । अन्नपूर्ण गाउँपालिका–५ का कार्यवाहक वडाध्यक्ष राजेश तिलिजाले पछिल्लो समय सडक निर्माणले तीव्रता पाएपछि आशा जागेको र उत्साहित बनाएको बताए । मार्ग खुलेको एक दशकपछि सडक स्तरोन्नति हुन लागेको हो । म्याग्दीको गौरवको आयोजना मानिएको यो सडक यातायात मात्र नभएर पर्यटन, कृषिको विकासका लागि समेत उत्तिकै महŒव छ । सडक स्तरोन्नतिपछि घोडेपानीमा आन्तरिक पर्यटकको आगमन बढ्ने, शिख र घारका स्थानीयवासीलाई आवतजावतका साथै ढुवानी तथा कृषि, पशु र वनजन्य उत्पादन निकासीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here