घर आगनमै खानेपानी धारा, स्थानीय फुरुङ्ग

बागलुङ, ११ पौष । लामो समयदेखि खानेपानी समस्या भोग्दै आएका बागलुङ नगरपालिका–८ सिगानाको घर आगनमै खानेपानी धारा पुगेको छ ।

स्थानीय तहमा जनप्रतिनिधि आए पछि संघ, प्रदेश र बागलुङ नगरपालिकाको संयुक्त पहलमा सिगाना क्षेत्रका करिव ३७० घरमा खानेपानी धारा जडान गरिएको हो । सिगानाको लामपाटा, आलबारी, बाँसकोट, पाखावारी, बाँसकोट, थापाथर, आलामुनी क्षेत्रमा एक घर एक धारा जडान गरिएको हो । घर आगनमा खानेपानी धारा जडान भए पछि स्थानीय फुरुङ्ग भएका छन् ।

एक घर एक धारा निर्माण हुनु अघि सो क्षेत्रका स्थानीयले सामुहिक धाराको पानी प्रयोग गर्दै आएका थिए । दिनमा मुस्किलले दुई घण्टा पानी आउने गरेको थियो । घरमै मिटर सहितको धारा जडान भएको स्थानीय कोपिला खडकाले बताउनुभयो ।

खानेपानीको समस्या भोग्दै आएको लामिचौरको दलित बस्तीमा समस्या उस्तै छ । खानेपानी मुहान विवादले दलित बस्ती मर्कामा परेको हो । सिगानाका २१ वटा खानेपानी मुहानबाट सार्वजनिक धारा, विद्यालय, स्वास्थ्य चौकीका धारा जडानको काम सुरु भएको सिगाना खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष यज्ञराज गौतमले जानकारी दिनुभयो ।

सिगानामा करिव छ सय घरधुरी बसोबास गर्दै आएका छन् । एक धर एक धारा अभियानमार्फत सबैलाई खानेपानी सेवा विस्तार गर्ने योजनाका साथ अघि बढेको वडाध्यक्ष राजन जिसीले बताउनुभयो । आउने असार मसान्तसम्म चार सय घरमा धारा जडान गर्ने लक्ष्य लिएको जिसीको भनाई छ ।

दलित बस्तीमा खानेपानी विस्तार गर्न लिफ्ट योजना तयार भए पनि काम नभएको उहाँले बताउनुभयो । अहिले दुईपारा, गुवाखोला, विविमरबोट, पिप्ले, छरछरे, विरौटा, थापाथर र कोरिखोला खानेपानीको काम भैरहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here