
बागलुङ, ४ पौष । बागलुङको ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकाको सिमा क्षेत्र भालीवाङ खोलामा मोटरेवल पुल निर्माण गरिएको छ ।
कुल चार करोड ४२ लाख लागतमा बुर्तिवाङदेखि तमानखोला गाउँपालिका केन्द्र बोङगादोभान जोड्न पुल निर्माण गरिएको हो । नयाँ बाटो सूर्यदल जेभीले गत बर्षको मंसिरदेखि पुल निर्माण सुरु गरेको थियो ।
नौ महिनाका काम सक्ने गरी वि.स २०७७ असोज १२ गते निर्माण सुरु भए पछि कोरोनाको कारण निर्माण ढिला भएको थियो । उक्त पुल ४० मिटर लम्बाइ र साढे आठ मिटर चौडाईको छ ।
एक बर्षमा पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको कम्पनीका साइड इन्जिनियर बलाराम पौडेलले जानकारी दिनुभयो । पुल निर्माण भए पछि दुई गाउँपालिकाको सडक सञ्जाल बाह्रै महिना सञ्चालन हुनेछ ।
बर्खाको समय भालिवाङ खोलाको वहाव बढ्दा करिव पाँच महिना दुई पालिकामा यातयात सञ्जाल टुट्दै आएको थियो । अब नियमित सडक सञ्चालन हुने पौडेलले बताउनुभयो । बूर्तिवाङ बजारदेखि तमानखोला गाउँपालिकाको केन्द्र बोङगादोभान ११ किलो मिटरको दुरी छ । पुल निर्माण भए पछि सडक यातयातको दुरी २० मिनेटमा सिमित भएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बुर्तिवाङ–तमानखोला सडक आयोजनाको स्टरवृद्धि तथा मोटरेवल पुल निर्माण गरेको हो । यस अघि आयोजनाले लुकुरबन खोलामा पुल निर्माण गरी यातयात सञ्चालन गरेको थियो । दुई वटा पुल सञ्चालनमा आए पछि बाह्रै महिना सडक यातयात सञ्चालन हुने तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो ।
