
काठमाडौँ, ५ कार्तिक । काठमाडौँ उपत्यकामा दशैँदेखि सुकेको प्याजको भाउ बढेको छ । दशैँअघि थोकमा प्रतिकेजी ४५ रुपियाँमा किनबेच भएको प्याजको भाउ दशैँदेखि बढेर अहिले प्रतिकेजी ८२ रुपियाँ पुुगेको छ । अन्य बेलाको तुुलनामा दशैँमा प्याज माग ह्वात्तै बढ्ने हुँदा भाउ बढेको हो ।
अघिल्ला वर्षहरूका दशैँमा पनि प्याजको मूल्य बढ्ने गरेको थियो तर यो वर्षजस्तो धेरै महँगो नभएको उपभोक्ता बताउँछन् । असोज २० सम्म प्रतिकेजी ४५ रुपियाँमा किनबेच भएकामा घटस्थापनामा प्रतिकेजी ६० रुपियाँ हुँदै फूलपातीसम्म ८२ रुपियाँ पुगेको खबर गोरखापत्रमा छापिएको छ ।
दशैँ सुरु भएयता प्याजको भाउ थोकमै प्रतिकेजीमा ३७ रुपियाँमा महँगो भएको हो । व्यापारीहरू भने प्याज दशैँका कारण भन्दा पनि भारतमै महँगो भएकाले यसको असर नेपाली बजारमा परेको बताउँछन् ।
