मनसुनजन्य विपतबाट विस्थापितको घर पुनःनिर्माण सुरु

बागलुङ, १२ असोज । गतबर्ष बर्खाको मनसुनजन्य विपतबाट घरवार विहिन भएका परिवारको निजी आवास पुनःनिर्माणका काम सुरु भएको ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राविधिकरणबाट पहिलो चरणमा सुचिकृत एक सय परिवारको घर निर्माण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले लाभग्राहीलाई आग्रह गरेको हो । विस्थापित भएको एक बर्ष पछि मात्रा पुनःनिर्माणको काम सुरु भएको हो ।

पहिलो चरणमा प्राविधिरणबाट २६१ लाभग्राहीकोआवास पुनःनिर्माणको प्रस्ताव स्वीकृत भए पनि १६१ जना लाभग्राहीको सुची जिल्ला प्रशासन कार्यालयबाट सिफारिस भएको नामसँग नमिलेको प्रमुख जिल्ला अधिकारी शिवकुमारी कार्कीले जानकारी दिनुभयो ।

प्राविधिकरणबाट लाभग्राहीको पहिचानका लागि तयार गरेको मोवाईल एप्लीकेसनमा समावेश लाभग्राहीलाई सम्झौताको लागि स्थानीय तहमा पठाउने निर्णय भएको प्रजिअ कार्कीले बताउनुभयो । लाभग्राहीले पहिलो चरणमा ५० हजार रुपियाँ प्राप्त गर्नेछन् । सरकारले मनसुनजन्य विपतबाट क्षतिग्रस्त घर पुनःनिर्माणको लागि प्रति लाभग्राही चार लाख रुपियाँ दिने निर्णय गरेको थियो ।

मोवाईल एप्लीकेशन अपडेटमा फरक नाम परेका १६१ जना लाभग्राहीलाई सम्बन्धीत स्थानीय तहले पहिचान गरी जिल्ला विपद व्यवस्थापन समितिलाई सिफारिस गरे पछि उनीहरुले पनि पुनःनिर्माणको लागि भुक्तानी पाउने छन् । गतबर्ष मनसुनजन्य विपदबाट दश स्थानीय तहका ६३२ परिवार विस्थापित भएका थिए । बाँकी लाभग्राहीको सुची प्राप्त भएको छैन । उनीहरुको सुची क्रमश प्राप्त हुने प्रजिअ कार्कीले बताउनुभयो ।

पुनःनिर्माणको लागि संघीय सरकारले दुई करोड ७८ लाख ८३ हजार रुपियाँ र गण्डकी प्रदेश सरकारले एक करोड ६० लाख ६५ हजार रुपियाँ निकासा गरेको जिल्ला प्रशासन कार्यालयका प्रशाकीय अधिकृत सूर्यलाल विकले जानकारी दिनुभयो ।

लाभग्राहीले पाउने अनुदानमा समेत तीनै तहको साझेदारी रहने कार्यविधिमा उल्लेख छ । गाउँपालिकाको हकमा संघीय सरकारले ६०, प्रदेश सरकारले ३० र स्थानीय तहले १० प्रतिशत साझदारी गर्नुपर्ने छ । नागरपालिकाको हकमा संघीय सरकारले ५५, प्रदेश सरकारले ३० र स्थानीय तहको १५ प्रतिशत लागत साझेदारी रहने छ ।

हालसम्म बागलुङ नगरपालिका, बडिगाड गाउँपालिका र तमानखोला गाउँपालिकाले दायित्वको रकम उपलब्ध गराएका छन । अन्य सात स्थानीय तहले रकम उपलब्ध गराउन ढिलाई गरेको हँुँदा लागत सहभागीताका रकम तत्काल बढाउन आग्रह गरेको विकले बताउनुभयो । लागत सहभागीताको रकम उपलब्ध नगराउने स्थानीय तहका लाभग्राहीले पुनःनिर्माणको सम्झौता रोकिने छ । लाभग्राहीले सम्बन्धीत वडामा सम्झौता गर्न सक्ने छन् । आवास निर्माणको कार्य प्रगतिको आधारमा रकम निकासा गर्दै जानेछ । घर भुकम्प प्रतिरोधी हुनुपर्ने छ ।

स्थानीय तहका प्राविधिकले पहिलो चरणको अनुगमन गर्ने प्रजिअ कार्कीको भनाई छ । मोवाईल एपीकेसनमा समावेश गर्न बाँकी सम्भावित मनसुनजन्य लाभग्राहीको सुचीमा परेको व्यक्तिहरुको विवरण सम्बन्धीत सबै स्थानीय तहले यथाशिध्र प्रविष्ट गर्ने निर्णय भएको छ । जिल्ला विपतर व्यवस्थापन समितिले यस बर्ष क्षतिग्रस्त भवन र सार्वजनिक संरचनाहरुको विवरण यथाशिध्र सिफारिस गर्ने निर्णय गरेको छ ।

गत वर्षको वर्षाले क्षति भएका निजी आवास पुनर्निर्माण तथा पुनःस्थापना हुन सकेको छैन । विस्थापित मध्ये एक्काइस परिवारको नयाँ घर बनाउन जग्गासमेत छैन । ५२ घर प्रबलीकरण मात्रै गर्दा बस्न सकिने छन ।

दुई वर्षमा सबै काम सकिने गरी लाभग्राहीले अनुदान पाउने कार्यविधिमा उल्लेख छ । गतबर्ष बागलुङमा सबैभन्दा धेरै ढोरपाटन र निसीखोला गाउँपालिकामा बाढी पहिरोबाट विस्थापित परिवार छन् । ढोरपाटनमा १२७ र निसीखोलामा पनि १२७ परिवार घरबारविहीन भएका थिए ।

बडिगाड गाउँपालिकामा ११५ घरमा क्षति पुगेको थियो । जैमिनीमा ६५, बागलुङमा ७४, गलकोट नगरपालिकमा ३३, ताराखोलामा २८, बरेङमा ४३, काठेखोलामा १४ र तमानखोला गाउँपालिकामा छ घर बाढी पहिरोबाट क्षति गरेको थियो । यस बर्षको बर्खामा सामान्य क्षति बाहेक ठुलो क्षति भएनन ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here